काठमाडौं। सहिद स्मारक ‘बी’ डिभिजन लिगको उद्घाटन खेलमा च्यासल युथ क्लब र वीरगञ्ज युनाइटेड भिड्ने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार पहिलो भेट यी दुई क्लबको हुने पक्का भएको हो।
यी दुईबीचको खेल फागुन २५ गते त्रिपुरेश्वरस्थित दशरथर रंगशालामा अपरान्ह्र ३:१५ बजे हुनेछ। वीरगञ्जले चार वर्षअघि भएको लिग नवौं स्थानमा रहँदै सक्काएको थियो। वीरगञ्जले १३ खेलमा चार जित, चार बराबरी र पाँच हारसहित १६ अंक जोडेको थियो। च्यासल भने सोही साल शीर्ष डिभिजनबाट घटुवा भएको हो।
च्यासलले शीर्ष डिभिजनका १३ खेलमा एक जित तीन बराबरी र नौ हारसहित ६ अंक मात्रै बटुलेको थियो। च्यासलसँगै बिग्रेट ब्वाइज क्लब पनि ‘बी’ डिभिजनमा घटुवा भएको थियो।
बिग्रेट ब्याइजले भने च्यासलले खेलेको भोलिपल्ट श्रीकुमार क्लबलाई चुनौती पेस गर्नेछ। उक्त खेल अपरान्ह्र ३:३० बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने तय छ।
‘बी’ डिभिजनमा च्यासल, वीरगञ्ज, बिग्रेट ब्वाइज र श्रीकुमारीसहित १४ क्लबको सहभागिता रहने छ। शीर्ष दुई टोली ‘ए’ डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई टोली ‘सी’ डिभिजन घटुवा हुनेछ।