काठमाडौं। सिर्जन श्रेष्ठको ह्याट्रिकसँगै थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा लिग लिडर एपिएफमाथि पुनरागमन जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा थ्री स्टारले ४–३ को जित निकालेको हो। योसँगै थ्री स्टारले ११ खेलबाट २२ अंक पुर्याएको छ। एपिएफको भने समान खेलबाट २६ अंक छ।
खेलको १८औं मिनेटमै अभिनाष वाइबाको गोलमार्फत एपिएफले सुरुआती अग्रता लिएको थियो। तर, ३५औं मिनेटमा सिर्जन र ३९औं मिनेटमा भूपेन्द्रबहादुर रावतले गोल गर्दै थ्री स्टारलाई २–१ को अग्रता दिलाए। ६४ र ७०औं मिनेटमा सिर्जनले गोल गर्दै ह्याट्रिक पूरा गर्दा थ्री स्टारले ४–१ को आरामदायी अग्रता लिएको थियो।
तर, ८१औं मिनेटमा अभिनाष र ९०औं मिनेटमा तेन्जिङ शेर्पाले गोल गर्दै अग्रता ४–३ मा झारे। यद्यपि, बाँकी समयमा गोल गर्न नसक्दा एपिएफ पहिलो हार खेप्न बाध्य भयो।