काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालाई निलम्बनसहितको कारबाही माग राख्दै सहिद स्मारक ‘सी’ डिभिजन लिगका १० क्लबले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङलाई पत्र बुझाएका छन्।
‘सी’ डिभिजन लिग गत वर्ष सम्पन्न भएको थियो। लिगमा सहभागी धेरै क्लबले मिलेमतो गरेको भन्दै खड्काले सामाजिक सञ्जालमा अभिव्यक्ति दिएका थिए। उनले यस विषयमा फिफा र एएफसीमा पत्रचारसमेत गरिसकेका छन। उक्त कार्यले आफ्नो गरिमामा आघात पुगेको भन्दै १० क्लब उनको निलम्बनको मागसहित पत्र लिएर सातदोबाटोस्थित एन्फा कम्प्लेक्स पुगेका हुन्।
‘हामी ‘सी’ डिभिजन क्लबविरुद्ध आधार र प्रमाणविना खेल मिलेमतोजस्तो गम्भीर विषयमा दिएका अभिव्यक्ति र गरेका गतिविधिहरूले हामी क्लबहरूको गरिमामा गम्भीर असर परेको हुँदा निज वरिष्ठ उपाध्यक्षलाई तत्काल निलम्बन गरी कारबाही गर्नका लागि माग गर्दै निवेदन गर्दछौं,’ पाँच क्लबले एन्फा अध्यक्षलाई लेखेको संयुक्त पत्रमा भनिएको छ।
उनीमाथि कारबाहीको माग राख्दै महावीर क्लब, खालीबारी युवा फुटबल क्लब, झम्सीखेल युथ क्लब, स्वयम्भू क्लब, मनोहरा युनाइटेड क्लब, पुलचोक स्पोर्ट्स क्लब, स्पोर्ट्स एकेडेमी साँगा, समाज कल्याण खेलकुद केन्द्र र सानेपा क्लब र सामाजिक युथ क्लबले पत्र बुझाएका हुन्।