काठमाडौं। इङ्लिस प्रिमियर क्लब टोटनह्यामका स्ट्राइकर रिचार्लीसन लिभरपुलविरुद्ध बिहीबारको ४–० को पराजयको क्रममा घाइते भएका छन्।
ब्राजिलियन अन्तर्राष्ट्रिय खेलाडीले सम्भावित काफ (खुट्टाको पछिल्लो भागको तल्लो मांसपेशी) को चोट बोकेका छन्। टोटनह्यामका मुख्यप्रशिक्षक एन्ज पोस्टेकोग्लुले उक्त जानकारी दिएका हुन्।
रिचार्लीसनलाई एनफिल्डमा भएको इङ्लिस लिग कप सेमिफाइनल दोस्रो लेगको पहिलो हाफको अन्त्यअघि नै प्रतिस्थापन गरिएको थियो। ‘उनको काफमा समस्या देखिन्छ। खेलपछि उनको अवस्था राम्रो देखिएन, त्यसैले उनी पनि घाइते खेलाडीहरूको सूचीमा थपिने सम्भावना छ,’ पोस्टेकोग्लुले भने।
रिचार्लीसन सन् २०२२ मा एभर्टनबाट टोटनह्याम आएका थिए। त्यसयता उनी निरन्तर चोटको समस्याबाट गुज्रँदै आएका छन्। पहिलो सिजनको सुरुमै काफको चोट बोकेका उनले २०२३ मा मुटुको शल्यक्रिया गराएका थिए।
यस सिजनको सुरुमा पनि उनी ह्यामस्ट्रिङको समस्याले मैदानबाहिर रहेका थिए। लिभरपुलले समग्रमा ४–१ को जित हात पार्दै मार्च १६ मा न्युक्यासलसँग लिग कप फाइनल खेल्ने छ।