काठमाडौं। स्पेनका अनुभवी डिफेन्डर सर्जियो रामोसले आठ महिनापछि प्रतिस्पर्धात्मक फुटबलमा पुनरागमन गर्दैछन्। उनले मेक्सिकोको लिगा एमएक्स क्लब मोन्टेरीबाट खेल्ने भएका हुन्। उनी आगामी मार्चमा ३९ वर्षका हुनेछन्।
मेक्सिकोको चर्चित क्लब मोन्टेरी (रायाडोस) मा अनुबन्ध भएसँगै उनले आगामी वर्ष अमेरिकामा हुने फिफा क्लब विश्वकपमा खेल्ने अवसर प्राप्त गर्नेछन्। मोन्टेरीले रामोसको सम्झौताका विस्तृत विवरण सार्वजनिक गरेको छैन।
तर, टोलीका अध्यक्ष जोसे एन्टोनियो नोरिएगाले भने, ‘हामीले उनलाई गत समरदेखि नै सम्झौता गर्न प्रयास गरेका थियौं। तर, सम्झौतामा सहमति भएन। यो नयाँ विन्डोमा हामीले फेरि प्रयास गर्यौं। टोलीलाई रामोसजस्तो खेलाडीको आवश्यकता छ। उनको गुणस्तर, अनुभव र नेतृत्व क्षमता अपार छ।’
मोन्टेरी मेक्सिकोका तीनमध्ये एक क्लब हो, जुन आगामी समरमा अमेरिकामा हुने विस्तारित क्लब विश्वकपको पहिलो संस्करणमा सहभागी हुनेछ। अन्य दुई क्लबहरू लिओन र पाचुका हुन्।
रामोसले स्पेनको राष्ट्रिय टोलीबाट सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप जितेका थिए। उनीसँग २०१२ को युरोपियन च्याम्पियनसिपको उपाधि पनि छ। क्लब करियरमा उनले रियल मड्रिडमा १६ सिजन बिताउँदै पाँच ला लिगा र चार च्याम्पियन्स लिग उपाधि जितेका थिए। उनले पछिल्लोपल्ट गत वर्ष मे महिनामा सेभियाबाट स्पेनिस लिगमा खेल खेलेका थिए।