काठमाडौं। इङ्लिस लिग कपको उपाधिका लागि लिभरपुलले न्युक्यासल भिड्ने भएका छन्। लिभरपुलले बिहीबार टोटनह्यामलाई ४–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो।
लिभरपुलको पहिलो लेगमा टोटनह्यामले लिएको १–० अग्रता उल्ट्याउँदै ४–१ को समग्र जित निकालेको हो। पहिलो सिजनमै प्रशिक्षक अर्ने स्लटको नेतृत्वमा लिभरपुलले चौथो उपाधि जित्ने अभियानलाई जारी राखेको छ।
लिभरपुलले अब मार्च १६ मा वेम्ब्ली स्टेडियममा न्युक्यासलसँग फाइनल खेल्नेछ। लिभरपुलले गत वर्ष चेल्सीलाई हराएर यो उपाधि जितेको थियो। स्लटको प्रशिक्षणमा लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा छ, च्याम्पियन्स लिगको राउन्ड अफ १६ मा पुगेको छ र एफए कपमा पनि प्रतिस्पर्धामा गरिरहेको छ।
‘हामी फाइनलमा छौं तर अझै धेरै खेलहरू बाँकी छन्। हामी शान्त र केन्द्रित रहनुपर्छ ताकि सकेसम्म धेरै उपलब्धि हासिल गर्न सकौं,’ लिभरपुलका फरवार्ड कोडी गाक्पोले भने। उनले पहिलो हाफमा एनफिल्डमा गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए।
मोहम्मद सलाह, डोमिनिक सोबोस्लाई र भर्जिल भान डाइकले दोस्रो हाफमा गोल गर्दै लिभरपुलको फराकिलो जित सुनिश्चित गरे। सलाहले खेलको ५१औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे भने सोबोस्लाईले ७५औं मिनेटमा लो फिनिसमार्फत अर्को गोल थपे। भान डाइकले पाँच मिनेटपछि कर्नरमार्फत हेडर गोल गरे।
टोटनह्यामको यो लज्जास्पद हारले प्रशिक्षक आन्ज पोस्टेकोग्लुको भविष्यमाथि थप प्रश्नहरू उठ्न सक्ने सम्भावना छ। टोटनह्याम लिगको १४औं स्थानमा छ र पछिल्ला १३ मध्ये चार खेल मात्र जितेको छ।
पोस्टेकोग्लुले भने, ‘हामीले राम्रो अवसर गुमायौं। हामी राम्रो स्थितिमा थियौं तर त्यो कायम राख्न सकेनौं।’ न्युक्यासलका लागि यो फाइनल अर्को अवसर हुनेछ। उनीहरूले पछिल्लो पटक सन् १९५५ मा एफए कप जितेका थिए। साउदी अरेबियाको सम्पत्ति कोषले २०२१ मा क्लब किनेदेखि उनीहरूले कुनै ठूला उपाधि जित्न सकेका छैनन्।