काठमाडौं। फेरान टोरेसको ह्याट्रिकमा बार्सिलोनाले भ्यालेन्सियालाई ५–० ले पराजित गर्दै बिहीबार कोपा डेल रे सेमिफाइनलमा स्थान पक्का गरेको छ।
टोरेसले खेलको तेस्रो, १७औं र ३०औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सहज अग्रता दिलाए। फर्मिन लोपेजले २३औं मिनेटमा अर्को गोल थपे भने लामिन यमलले ५९औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।
बार्सिलोनाले दुई हप्ताअघि मात्र ला लिगामा भ्यालेन्सियालाई आफ्नै मैदानमा ७–१ को फराकिलो हार चखाएको थियो। ‘हामीले यो खेल निकै कठिन हुने अनुमान गरेका थियौं तर सुरुमा नै गोल गर्न सफल भयौं। त्यसले विपक्षीलाई दबाबमा पारे,’ टोरेसले भने।
भ्यालेन्सिया र म्यानचेस्टर सिटीका पूर्वफरवार्ड टोरेसले आफ्नो पुरानो क्लबको अवस्थाप्रति दुःख व्यक्त गर्दै भने, ‘म उनीहरूको लागि शुभकामना दिन चाहन्छु। म पनि भ्यालेन्सियाको फ्यान हुँ। आफ्नो जीवनको क्लबलाई यस्तो संकटमा देख्नु निकै दुःखद हो।’
स्पेनिस लिगमा अन्तिमबाट दोस्रो स्थानमा रहेको भ्यालेन्सिया अहिले मैदानभित्र र बाहिर समस्यामा छ। समर्थकहरूले सिंगापुरेली मालिक पिटर लिमविरुद्ध प्रदर्शन गर्दै आएका छन्।
२०२१–२२ कोपा डेल रेमा भ्यालेन्सिया उपविजेता बनेको थियो। २०२२–२३ मा रियल मड्रिडसँग पराजित भएपछि बार्सिलोना सेमिफाइनलमा पुग्न असफल भएको थियो। क्लबले अन्तिम पटक २०२०–२१ मा कोपा डेल रे उपाधि जितेको थियो।