काठमाडौं। गोलकिपर टिकेन्द्रसिंह थापा नायक बनेसँगै चर्च ब्वाइज युनाइटेड क्लब २४औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालामा बिहीबार सम्पन्न खेलमा चर्च ब्वाइजले सडनडेथमा न्युरोड टिम (एनआरटी)लाई सडनडेथमा ६–५ ले पराजित गरेको हो। योसँगै चर्च ब्वाइजले सेमिफाइनल प्रवेश गर्न त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ। एनआरटी भने पहिलो खेलबाटै बाहिरिएको छ।
निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ को बराबरी खेलेका थिए। त्यसैले ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरबाट धकेलिएको थियो। तर, टिकेन्द्रले टाइब्रेकर र त्यसपछि सडनडेथमा तीन प्रहार बचाए भने सडनडेथमा एक गोलसमेत गर्दै चर्च ब्वाइजलाई क्वार्टरफाइनलमा पुर्याए।
टाइब्रेकरमा चर्च ब्वाइजका नवीन लामा, मिलन राई, अकिन्स बाफर, अबायोमी फाकुन र प्रशान्त लक्षमले गोल गरे। सकल रेग्मीको प्रहार आकासियो।
एनआरटीका अञ्जन विष्ट, जय गुरुङ, सुमित श्रेष्ठ, विशाल सुनार र राजीव लोप्चनले गोल गरे। तर, एन्जल महर्जनको प्रहार बाहिरियो। टाइब्रेकरमा ५–५ गोलको बराबरीमा सकिएकोपछि खेल सडनडेथमा पुगेका थिए। तर, टाइब्रेकरमा सुरुआती दुई प्रहार दुवै टोलीले सदुपयोग गर्न सकेनन्। त्यसपछि आएका टिकेन्द्रसिंह थापाले गोल गर्दा टिकेन्द्रले एनआरटीका माइकल मगरको अर्को प्रहार रोक्दै जित दिलाए।
त्यसअघि न्युरोडले सुरुआती अग्रता लिएको थियो। २४औं मिनेटमा रिचर्ड विल्सनले सुरुआती अग्रता दिलाएका थिए। तर, ६३औं मिनेटमा नवीन लामाले गोल गर्दै चर्च ब्वाइजलाई खेलमा फर्काए।