काठमाडौं। एसी मिलानका प्रशिक्षक सर्जियो कोन्सेइसाओले जोआओ फेलिक्स, सान्टियागो गिमेनेज र काइल वाकरको आगमनले मनपर्ने शैलीको फुटबल लागू गर्न सहज बनाएको बताएका छन्।
बुधबार रोमाविरुद्ध कोपा इटालियाको खेलमा मिलानले ३–१ को जित हासिल पारेको थियो। मिलानको जितमा जनवरीको ट्रान्सफर विन्डोमा आएका फेलिक्स र गिमेनेज बेञ्चबाट मैदानमा उत्रिएर टोलीको तेस्रो गोलमा सहकार्य गरे। वाकरले भने खेलको सुरुआत गरेका थिए।
खेलपछि मिलानलाई पोर्टोको टोलीसँग तुलना गर्न सकिन्छ? भनेर सोध्दा कोन्सेइसाओले मेडियासेटलाई भने, ‘हामी अझै त्यहाँ पुगेका छैनौं। तर, ट्रान्सफर विन्डोबाट आएका खेलाडीहरूको विशेषताले मलाई मनपर्ने फुटबलतर्फ अघि बढ्न सहज बनाएको छ। दुई फरवार्डको प्रयोग र गोल गर्नसाथै गोल नखाने सन्तुलन खोज्नु मेरो प्राथमिकता हो।’
डिसेम्बरमा मिलानको जिम्मेवारी लिएका कोन्सेइसाओले खेलाडीहरूले उनको योजनालाई चाँडो सिकेकोमा सन्तुष्टि व्यक्त गरे। ‘टोलीलाई हाम्रो योजना बुझाउन प्रयास गरिरहेका छौं। तर, यो खेलको तयारीका लागि मात्र एउटा प्रशिक्षण सत्र थियो,’ उनले भने।