काठमाडौं। लिभरपुलका राइट ब्याक ट्रेन्ड एलेक्जान्डर–अर्नोल्डले टोटनह्यामविरुद्धको खेल गुमाउने भएका छन्। लिभरपुलले बिहीबार इङ्ग्लिस लिग कप सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा टोटनह्यामलाई चुनौती पेस गर्दैछ। तर, उनले चोटका कारण उक्त खेल गुमाउने भएका हुन्।
लिभरपुल पहिलो लेगमा १–० ले पछि परेको छ। दोस्रो लेग लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ। लिभरपुललाई आफ्ना समर्थकमाझ पुनरागमन गर्दै आफ्नो उपाधि रक्षा गर्ने अर्को मौका मिल्नेछ।
शनिबार प्रिमियर लिगमा बर्नमाउथविरुद्ध २–० को जित हासिल गर्दा एलेक्जान्डर–अर्नोल्डले ७०औं मिनेटमा चोटका कारण मैदान छाडेका थिए। ‘उनले खेल गुमाउनेछन्,’ लिभरपुलका प्रशिक्षक अर्ने स्लटले बुधबार भने, ‘हामीलाई हेर्न बाँकी छ कि उनी आइतबारको खेलका लागि तयार हुन्छन् या हुँदैनन्।’
लिभरपुलले आइतबार एफए कपमा प्लायमाउथसँग खेल्नेछ र अर्को बुधबार प्रिमियर लिगमा एभर्टनसँग मर्सीसाइड डर्बी खेल्नेछ। एलेक्जान्डर–अर्नोल्डको चोटबारे थप जानकारी माग्दा स्लटले भने, ‘तपाईंले देख्नुभयो होला, उनले अलि पीडा लिएर मैदान छाडेका थिए। त्यसैले उनले खेल गुमाउँदैछन्। तर, उनले पुनः अभ्यास सुरु गरिसकेका छन्, यद्यपि टिमसँग नभई रिह्याब कोचसँग। हेरौं उनी कहिले पूर्ण फिट हुनेछन्।’