काठमाडौं। मच्छिन्द्र फुटबल क्लब २४औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ।
पोखरा रंगशालामा बुधबार भएको पहिलो खेलमा एपिएफलाई २–० ले पराजित गर्दै मच्छिन्द्रले अन्तिम आठमा स्थान पक्का गरेको हो। योसँगै मच्छिन्द्रले सेमिफाइनलमा पुग्न थ्री स्टार क्लबलाई चुनौती प्रस्तुत गर्ने भएको छ।
साबिक उपविजेता थ्री स्टारले भने सोझै अन्तिम आठमा स्थान पाएको थियो। मच्छिन्द्रलाई जित दिलाउन स्टेफन कामहा र आदित्य शाक्यले गोल गरे।
दुवै गोल दोस्रो हाफमा भएको हो। ७४औं मिनेटमा आदित्यको गोलमार्फत मच्छिन्द्रले सुरुआती अग्रता लिएको थियो। ८१औं मिनेटमा स्टेफनले गोल गर्दै मच्छिन्द्रको सहज जित पक्का गरे।