काठमाडौं। रियल मड्रिडका फरवार्ड किलियन एमबाप्पे र मिडफिल्डर जुड बेलिङ्घम बुधबारको कोपा डेल रे क्वार्टरफाइनलमा लेगानेसविरुद्ध उपलब्ध हुने छैनन्।
प्रशिक्षक कार्लो एन्सेलोटीका अनुसार एमबाप्पे र बेलिङ्घमसँगै मिडफिल्डर एडुआर्डो कामाभिङ्गा, डिफेन्डरहरू डेभिड अलाबा र एन्टोनियो रुडिगरलाई पनि टोलीमा राखिएको छैन। लामो समयदेखि चोटग्रस्त रहेका एडर मिलिटाओ र डानी कार्भाहाल पनि टोलीबाट बाहिर रहने छन्।
गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट सान्टियागो बर्नाबेउ पुगेका फ्रान्सका २६ वर्षीय कप्तान एमबाप्पेले सबै प्रतियोगिताका ३३ खेलमा २१ गोल गरेका छन्। उता २१ वर्षीय इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी बेलिङ्घमले ३० खेलमा १० गोल गरेका छन्।
‘बेलिङ्घमलाई सामान्य चोट लागेको छ, जसका कारण उनी उपलब्ध हुने छैनन्। भिनिसियस जुनियरलाई अतिरिक्त विश्राम दिइएको छ, तर उनी खेलका लागि उपलब्ध हुनेछन्, एन्सेलोटीले मंगलबार पत्रकार सम्मेलनमा भने, ‘एमबाप्पेले आज प्रशिक्षण गरे। उनमा चोट छ। उनी सामान्य प्रशिक्षणमा सामेल भए। तर, खेल्नका लागि उपलब्ध हुने छैनन्।’
लिगको शीर्ष स्थानमा रहेको रियलसँग २२ खेलमा ४९ अंक छ, दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडभन्दा एक अंकले अघि। आगामी दिनमा रियलले एट्लेटिकोविरुद्धको ‘लिग डर्बी’ र म्यान्चेस्टर सिटीविरुद्धको च्याम्पियन्स लिग नकआउटजस्ता चुनौतीपूर्ण खेलहरू खेल्नुपर्नेछ।
‘हामीले चोटको समस्यालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे सोच्नुपर्छ। यो समस्यालाई गत वर्ष पनि व्यवस्थापन गरेका थियौं, यो पटक पनि गर्नुपर्नेछ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर मिल्नेछ। हामी २० वर्षीय डिफेन्डर जाकाबो रामोनमाथि निर्भर गर्नेछौं,’ एन्सेलोटीले भने।
जनवरी ‘ट्रान्सफर विन्डो’ सोमबार बन्द हुँदा रियलले नयाँ खेलाडी अनुबन्ध गरेन। तर, च्याम्पियन्स लिग प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीले स्पेनका मिडफिल्डर निको र इजिप्टका फरवार्ड ओमर मारमौशलाई अनुबन्ध गरिसकेको छ।
सिटीले यो विन्डोमा २२३ मिलियन डलर खर्च गरेको छ। ‘सिटीले नयाँ खेलाडी अनुबन्ध गरेको छ। उनीहरूले सधैँ प्रतिस्पर्धात्मक खेल खेल्छन्। तर, अहिले हामीले अन्य कुराहरूमा ध्यान दिनुपर्नेछ,’ एन्सेलोटीले थपे।