काठमाडौं। रियल मड्रिडको डिफेन्स लाइनमा अर्को समस्या थपिएको छ। क्लबले मंगलबार पुष्टि गरेअनुसार डेभिड अलाबालाई बाँया खुट्टाको एडक्टर मांसपेशीमा चोट लागेको छ।
स्पेनी मिडियाका अनुसार अलाबा दुईदेखि तीन साता मैदानबाहिर रहने अनुमान गरिएको छ। यसले गर्दा उनले शनिबार एट्लेटिको मड्रिडविरुद्धको ला लिगा खेल र अर्को साता म्यानचेस्टर सिटीसँगको च्याम्पियन्स लिग खेल गुमाउने सम्भावना छ।
अलाबा एक महिनाअघि मात्रै घुँडाको चोटका कारण एक वर्ष मैदानबाहिर बसेर पुनः खेलमा फर्किएका थिए। अलाबाको चोटको एक दिनअघि क्लबले अर्को मुख्य डिफेन्डर एन्टोनियो रुडिगरलाई पनि दाहिने खुट्टाको मांसपेशीमा चोट लागेको जानकारी दिएको थियो। रुडिगर पनि लगभग तीन सातासम्म मैदानबाहिर रहने अनुमान गरिएको छ।
प्रशिक्षक कार्लो एन्सेलोटीलाई पहिल्यैदेखि सेन्ट्रल डिफेन्डर एडर मिलिटाओ र राइट ब्याक डानी कार्भाहालको चोटले समस्या भएको थियो। अहिले राउल एसेन्सियो मात्र फिट र उपलब्ध छन्। डिफेन्सको समस्या हल गर्न एन्सेलोटीले मिडफिल्डर अरेलियन चुआमेनलाई सेन्ट्रल डिफेन्समा प्रयोग गर्दै आएका छन्।