काठमाडौं। पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मंगलबार फ्रेन्च कपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। पहिलो हाफमा डिजायर डुए र दोस्रो हाफमा ब्राड्ली बारकोलाले गोल गरेसँगै पिएसजीले तेस्रो श्रेणीको टोली ले मेन्सलाई २–० ले पराजित गरेको हो।
पिएसजीका प्रशिक्षक लुइस एनरिकेले खेलपछि भने, ‘यो फ्रेन्च कपको विशिष्ट खेल थियो। खतरनाक र अनिश्चित। धेरै कुराहरू नियन्त्रण गर्न सकिँदैन। तर, मैले सोच्छु कि हामीले राम्रो प्रदर्शन गर्यौं।’
खेलको सुरुआतमै घरेलु टोली ले मेन्सले पिएसजीलाई चुनौती दिन खोजेको थियो। गाबिन बेर्नार्डेउको क्रसलाई थियो इयूमले अनमार्क अवस्थामा प्रहार गरे पनि बल साइड नेटमा लाग्यो। ले मेन्सले पिएसजीलाई निराश पार्ने प्रयास गर्दै डिफेन्सलाई बलियो बनाउँदै बचाउमा ध्यान दिएको थियो।
पिएसजीले पहिलो प्रहार खेलको १७औं मिनेटमा गरेको थियो। तर, ली काङ–इनको प्रहार पोस्टमाथिबाट बाहिर गयो। २५औं मिनेटमा ले मेन्सका डिफेन्सको गल्तीका कारण पिएसजीले अग्रता लियो। एलेक्जान्डर लउरेको पास गोन्कालो रामोसले ब्लक गरेपछि बल डुएको हातमा पुग्यो। उनले बललाई लो कर्नरमा प्रहार गर्दै गोल गरे।
६८औं मिनेटमा डुएको स्थानमा मैदान प्रवेश गरेका बारकोलाले मैदान छिरेको तीन मिनेटमै गोल गरे। नुनो मेन्डेसको हाइ पासलाई नियन्त्रणमा लिएर उनले नजिकको पोस्टमा गोल गरे।
‘हामी क्वार्टरफाइनलमा छौं, खेलाडीहरूलाई केही मिनेट र विश्राम दिन सफल भयौं। त्यसैले हामी खुसी हुनुपर्छ,’ प्रशिक्षक एनरिकेले भने। अब पीएसजीले शुक्रबार लिग वानको शीर्ष स्थानको भिडन्तमा तेस्रो स्थानको मोनाकोलाई आतिथ्यता दिनेछ।