काठमाडौं। एट्लेटिको मड्रिडले मंगलबार कोपा डेल रे क्वार्टरफाइनलमा गेटाफेलाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
मुख्यप्रशिक्षक डिएगो सिमेओनेका छोरा जुलियानो सिमेओनेले खेलको पहिलो हाफमा दुई गोल गर्दै टोलीको सानदार जितमा महत्त्वपूर्ण भूमिका निभाए।
आठौं मिनेटमा जाभी गालनको क्रसलाई छोटो दुरीबाट हेडर गर्दै जुलियानोले पहिलो गोल गरे। नौ मिनेटपछि उनले उत्कृष्ट पहिलो प्रहारमा दोस्रो गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर बनाए।
गेटाफेका गोलरक्षक जिरी लेताचेकले ३०औं मिनेटअघि समु लिनोको प्रहार उत्कृष्ट बचाउ गर्दै रोके। तर, लिनोले ४२औं मिनेटमा विपक्षी डिफेन्डरको चुनौती पन्छाउँदै अग्रता ३–० बनाए।
दोस्रो हाफमा ४९औं मिनेटमा जुलियानोले ह्याट्रिक पूरा गर्ने मौका पाएका थिए। तर, उनको गोल अफसाइडको कारण रद्द गरियो। उनले ६०औं मिनेटमा मैदान छोड्दा दर्शकहरूले उभिएर ताली बजाएर सम्मान व्यक्त गरे।
‘आजको रात मेरो लागि अद्भुत रह्यो। म टिमलाई धन्यवाद दिन चाहन्छु किनभने हामीले ठूलो प्रयास गरेका छौं। मैले अझ धेरै सुधार गर्नुछ र दिनदिनै सुधार गर्दै अघि बढ्न चाहन्छु,’ जुलियानोले भने।
७८औं मिनेटमा सब्स्टिच्युट एन्जल कोरेआले टाढाबाट लो सट गर्दै गोल गरे। चार मिनेट बाँकी छँदा कोरेआले एलेक्जान्डर सर्लोथलाई असिस्ट गर्दै अन्तिम गोल गराए।
लगातार दोस्रो सिजन सेमिफाइनलमा पुगेको एट्लेटिको अब ला लिगामा ध्यान केन्द्रित गर्दै शनिबारको डर्बी खेलमा रियल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ। ‘आजको खेल कठिन थियो। हामीलाई आराम गर्नुछ र शनिबारको खेलका लागि राम्रो तयारी गर्नुछ,’ २२ वर्षीय जुलियानोले भने।