काठमाडौं। सान्टियागो कास्त्रोले बेन्चबाट मैदान प्रवेश गरेलगत्तै गरेको निर्णायक गोलसँगै बोलोग्ना २६ वर्षपछि इटालियन कप सेमिफाइनलमा पुगेको छ।
मंगलबारको क्वार्टरफाइनल खेलमा बोलोग्नाले गत वर्षको उपविजेता एटलान्टालाई १–० ले हरायो। अब बोलोग्नाले सेमिफाइनलमा युभेन्ट्स र एम्पोलीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। युभेन्ट्स र एम्पोलीबीचको खेल फेब्रुअरी २६ मा हुनेछ।
बोलोग्ना यसअघि अन्तिमपल्टक सन् १९९९ मा सेमिफाइनल पुगेको थियो, जहाँ उसले फियोरेन्टिनासँग ४–२ को हार बेहोरेको थियो। बर्गामोमा भएको तीव्र गतिको खेलमा दुवै टोलीले अवसर सिर्जना गरे पनि ८०औं मिनेटमा बोलोग्नाले अग्रता लियो। कास्त्रोले चारालाम्पोस लिकोजानिसको उत्कृष्ट फ्रि–किकलाई हेडर गर्दै गोलमा परिणत गरे।
२० वर्षीय अर्जेन्टिनी खेलाडी कास्त्रोले गोल गर्नुअघि मैदानमा प्रवेश गरेको दुई मिनेट पनि भएको थिएन। यो पराजयले एटलान्टाका लागि २०२५ को नयाँ वर्षको खराब प्रदर्शनलाई निरन्तरता दिएको छ। एटलान्टाले यो वर्षको १० खेलमध्ये केवल स्टर्म ग्राज र कोमोविरुद्ध मात्र जित हात पार्न सकेको छ।