काठमाडौं। नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल बुधबारदेखि हुने भएको छ।
ई–प्लानेटको मुख्य प्रायोजनमा देशव्यापी रुपमा आयोजना भइरहेको प्रतियोगिताको फाइनल बुधबारदेखि शनिबारसम्म तल्लो मूलपानी क्रिकेट ग्राउडमा सञ्चालन हुने भएको हो। प्रतियोगितामा देशभरका सात क्षेत्रीय विजेता तथा काठमाडौं छनोटको उपविजेता गरि कुल आठ टिमले प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिताको राष्टिय फाइनलमा अर्किड कलेज, आस्था कलेज, मोनास्टिक कलेज, प्यारामाउन्ट कलेज, कास्की मोडर्नाइज्ड, वेस्टर्न क्रिस्टल एकेडेमी, शिक्षान्तर कलेज तथा हिमालय एकेडेमी छन्। यस वर्ष विभिन्न कठिनाइहरूका कारण सुर्खेत छनोट आयोजना हुन नसकेको आयोजक संस्थाले जनाएको छ।
हाइप यति इभेन्ट्सद्वारा आयोजित यो प्रतियोगिताका टुर्नामेन्ट डाइरेक्टर रवीन्द्र गुप्ता तथा व्यवस्थापक कपिल भण्डारी हुन्। प्रतियोगितामा ई–प्लानेट (शीर्ष प्रायोजक), रुटिन अफ नेपाल बन्द (डिजिटल पार्टनर), खेलपाटी (प्रसारण पार्टनर), विकेट नेपाल (मिडिया पार्टनर) तथा यति एयरलाइन्सको ‘गिभन विङ्स’ (यात्रा पार्टनर) को साथ रहेको छ।
माघ २६ सम्म चल्ने यस प्रतियोगिताले नेपालका उत्कृष्ट विद्यालय स्तरका क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ।