काठमाडौं । लगातार तेस्रो जितसँगै महावीर प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ।
मंगलबार सम्पन्न खेलमा महावीरले समूह चरणको आफ्नो अन्तिम खेलमा पुष्पलाल स्पोर्ट्स क्लबविरुद्ध १२९ रनको जित हासिल गरेको हो।योसँगै तीन खेलमा ६ अंक जोडेको महावीर समूह ‘ए’ को विजेता बन्यो। समान खेल खेलेको पुष्पलाल अंकविहीन रहेर प्रतियोगिताबाट बाहिरिएको छ।
महावीरले दिएको २१० रनको लक्ष्य पछ्याएको पुष्पलाल १७.५ ओभरमा सबै विकेट गुमाउँदै ८० रनमै समेटियो । पुष्पलालका दीपक भण्डारीले सर्वाधिक ३४ र विकी मण्डलले १३ रन बनाए। महावीरका प्रतिश जिसी, विराट बस्नेत र सगुन चन्दले दुई/दुई विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको महावीरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०९ रन बनाएको थियो।
महावीरका सर्वधिक ८० रन बनाए। सोनु देवकोटा ४४ र रिजन थापा ४१ रनमा आउट भए। पुष्पलालका लागि राम रोकाया, ओमप्रकाश डाँगी र विकाश आचार्यले एक/एक विकेट लिए।