काठमाडौं। म्यानचेस्टर सिटीले सोमबार पोर्टोका मिडफिल्डर निको गोन्जालेजलाई अनुबन्ध गर्दै यो विन्टर ट्रान्सफर विन्डोमा आफ्नो खर्च २०० मिलियन डलरभन्दा माथि पुर्याएको छ।
गोन्जालेजलाई अनुबन्ध गर्नु क्लबको यो सिजनको सबैभन्दा महत्त्वपूर्ण सम्झौता मानिएको छ। किनभने रोड्रीको चोटपछि सिटीलाई सेन्टर मिडफिल्डमो अभावले निकै असर गरिरहेको थियो।
२३ वर्षीय गोन्जालेज डेपोर्टिभो ला कोरुनाका पूर्वखेलाडी फ्रान गोन्जालेजका छोरा हुन्। उनी बार्सिलोनाको युवा एकेडेमीबाट आएका हुन्। उनले २०२३ मा पोर्टोसँग ८.५ मिलियन युरोमा सम्झौता गरेका थिए।
पोर्टोले यो सम्झौताबाट ठूलो नाफा कमाएको छ। सिटीले ६० मिलियन युरोको रिलिज क्लज सक्रिय गर्दै उनलाई अनुबन्ध गरेको बताइएको छ। यो सम्झौताबाट बार्सिलोनाले पनि ४० प्रतिशत हिस्सा पाउनेछ।
रोड्रीको घुँडाको चोटपछि सिटीको प्रदर्शन कमजोर बन्दै गएको छ। सिटीका चार प्रमुख डिफेन्डरह रुबेन डायस, नाथान अके, जोन स्टोन्स र म्यानुअल अकान्जी चोटका कारण मैदानबाहिर छन्। आइतबार आर्सनलसँगको ५–१ को पराजयपछि सिटीले यस सिजनको प्रिमियर लिग उपाधि दौडबाट पनि आफूलाई बाहिर राखेको छ। च्याम्पियन्स लिगमा क्लबसँग पछिल्लो खेलमा क्लब ब्रुगेसविरुद्धको कठिन जितका कारण मात्र प्लेअफमा स्थान सुरक्षित गर्न सकेको छ।
सिटीले यस ट्रान्सफर विन्डोमा युवा डिफेन्डरहरू अब्दुकोदिर खुसानोभ (लेन्स) र भिटोर राइस (पल्मेरास) लाई कूल ७७ मिलियन डलरमा अनुबन्ध गरेको छ। त्यसपछि इजिप्टका फरवार्ड ओमर मर्मोउशलाई आइन्ट्राच्ट फ्रान्कफर्टबाट ७३ मिलियन डलरमा ल्याएको छ।
१८ वर्षीय क्रिस्टियन म्याकफार्लानलाई न्यूयोर्क सिटी एफसीबाट अनुबन्ध गरेपछि सिटीले उनलाई लेन्समा लोनमा पठाएको छ। सिटीविरुद्ध इङ्लिस फुटबल इतिहासकै सबैभन्दा ठूलो कानुनी मुद्दाको फैसला चाँडै आउनसक्ने बताइएको छ। सम्भावित सजायमा प्रिमियर लिगबाट निष्कासन या भविष्यको खर्चमा सीमा लगाउने निर्णय हुनसक्छ। त्यसैले सिटीले अहिले नै युवा खेलाडीहरू अनुबन्ध गर्दै भविष्यको योजना तयार पारिरहेको हुनसक्ने आँकलन गरिएको छ।
सिटीको यो खर्च जनवरी ट्रान्सफर विन्डोमा दोस्रो सबैभन्दा ठूलो हो। चेल्सीले जनवरी २०२३ मा एन्जो फर्नान्डेज, मिखाइलो मुद्रिक र बेनोइट बडियाशिलजस्ता खेलाडीमा ३५० मिलियन डलरभन्दा बढी खर्च गरेको थियो।