काठमाडौं। फिनिसिङमा चुक्दा नेपाल त्रिकोणात्मक टी–२० आई महिला शृंखलाको चौथो खेलमा पनि पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा पाँच रनले पराजित हुँदा जितविहीन यात्रामा ब्रेक लगाउने नेपालको लक्ष्य पूरा भएन।
थाइल्यान्डले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पछ्याएको नेपालले आठ विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो। योसँगै थाइल्यान्डले शतप्रतिशत जित निकाल्दै चार खेलबााट आठ अंक पुर्याएको छ। नेपाल भने जितविहीन छ। योसँगै थाइल्यान्डले उपाधि जित्ने सम्भावना बलियो बनाउँदा नेपालको भने समाप्त भएको छ।
नेपाललाई अन्तिम सात बलमा १५ रन चाहिएको थियो। तर, दुई विकेट गुमाउँदै नौ रन मात्रै बनाउन सकेपछि नेपाल जितबाट टाढिएको हो।नेपालकी रुविना क्षेत्रीले सर्वाधिक २६ रन बनाइन्। उनले ३० बल खेली तीन चौका र एक छक्का प्रहार गरिन्। कविता जैशी २४ र पूजा महतो १८ रनमा आउट हुँदा रोमा थापा १९ रनमा अविजित रहिन्।
थाइल्यान्डकी थिपताचा पुथावोङले सर्वाधिक चार विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले एक मेडनसहित १० रन खर्चिइन्। फनिता मायाको नाममा दुई विकेट रह्यो। नेपालले अब बुधबार नेदरल्यान्ड्स र अन्तिम खेलमा थाइल्यान्डलाई चुनौती पेस गर्नेछ।