काठमाडौं। तुलबहादुर थापाको उत्कृष्ट बलिङसँगै न्यु होराइजन बुटवलले अर्जुन ट्रफीमा विजयी सुरुआत गरेको छ।
मंगलबार सम्पन्न खेलमा बुटवलले दशरथ चन्द एकेडेमी बैतडीलाई ५१ रनले पराजित गरेको हो। योसँगै समूह ‘बी’ मा बुटवलले दुई अंक जोडेको छ।
बुटवलले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको बैतडीले १४.५ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनायो। बैतडीका बसन्त खत्रीले सर्वाधिक २० रन बनाए। उनले १५ बल खेली दुई चौका र एक छक्का प्रहार गरे। हिमाल दौल्याल १९, सुमित बडेल १४ र दिवश पुन १२ रनमा आउट हुँदा अन्यको प्रदर्शन सुखदायी रहेन।
बैतडीलाई रोक्न तुलबहादुरले सर्वाधिक तीन विकेट लिए। तीन ओभर बलिङ गरेका उनले १९ रन खर्चिए। वीर मगर र बिप्रसन केसीले दुई/दुई विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ थालेको बुटवलले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५७ रनको योगफल बनाएको थियो। बुटवलका दीपक डुम्रेले सर्वाधिक ४५ रन बनाए। उनले ४५ बल खेली चार चौका र एक छक्का प्रहार गरे।
आरिफ खान ४१, प्रतिक श्रेष्ठ २० र कप्तान दिलिप नाथ २०/२० रनमा आउट हुँदा गोविन्द विकले १९ रन बनाए। बैतडीका भुवन कार्कीले दुई विकेट लिए। रुपेश सिंह, खड्क बोहरा र सलाहुदिन खानको नाममा समान एक विकेट रह्यो।