काठमाडौं। ला लिगामा स्पान्योलसँगको हार रियल मड्रिडलाई पचाउन सहज थिएन। रेलिगेसन जोनमा रहेको स्पान्योलले उक्त खेलमा रियललाई १–० ले हराउँदै आश्चर्यजनक नतिजा हात पारेको थियो। यो नतिजापछि एट्लेटिको मड्रिड शीर्ष स्थानको रियलभन्दा एक अंकले नजिक पुगेको छ।
उपाधि यात्रा नै संकटमा धलेलिएपछि रियलले स्पेनको फुटबल महासंघ र देशको प्रमुख खेल निकायलाई रेफ्रीको निर्णयविरुद्ध औपचारिक गुनासो पत्र पठाएको छ। यो पत्र पराजय भएको दुई दिनमै पठाइएको हो।
रियलले आफ्नो बोर्डको बैठकपछि आरसिडिई स्टेडियममा शनिबार भएको हार ‘खराब रेफ्रिङ प्रदर्शन’ का कारण भएको निर्ष्कष निकालेको छ। त्यसैले गुनासो पठाउने निर्णय गरेको जनाएको छ। मुख्य विवाद स्पान्योलका डिफेन्डर कार्लोस रोमेरोले किलियन एमबाप्पेमाथि गरेको फाउललाई लिएर थियो। यो घटनामा रोमेरोलाई पहेंलो कार्ड देखाइएको थियो। तर, रियलले सीधा रातो कार्ड देखाउनुपर्ने माग गरेको थियो।
भिएआ समीक्षा पछि रेफ्री टोलीले पहेंलो कार्डलाई उपयुक्त ठहर्यायो। रियलले उक्त फाउललाई ‘क्रूर’ भनेको छ। रोमेरोले अन्ततः खेलको ८५औं मिनेटमा विजयी गोल गरेका थिए। चार पृष्ठ लामो पत्रमा रियलले भिएआर र रेफ्री टोलीको प्रदर्शनलाई ‘स्क्यान्डलस’ भनेको छ। क्लबले विवादास्पद घटनासँग सम्बन्धित रेफ्रीले गरेको अडियो कुराकानी सार्वजनिक गर्न माग गरेको छ।
रियलले खेलको २१औं मिनेटमा भिनिसियस जुनियरले गरेको पूर्ण रूपमा ‘वैध’ गोललाई अस्वीकृत गरिएकोमा पनि गुनासो गरेको छ। भिएआरले उक्त गोलको निर्माणमा केलिन एमबाप्पेले फाउल गरेको ठहर गरेको थियो।
रियलका अनुसार यो घटनाले ‘विश्वव्यापी प्रतिक्रिया निम्त्याएको, अन्तर्राष्ट्रिय मिडियाले स्पेनमा भिएआरको प्रयोग र खराब रेफ्रिङलाई निन्दा’ गरेको जनाएको छ। क्लबले शनिबारको घटनालाई पहिलो घटना होइन भन्दै स्पेनको रेफ्रिङ प्रणालीमा विश्वसनीयताको अभाव र संरचनात्मक समस्या रहेको दाबी गरेको छ।
स्पेनिस लिगका अध्यक्ष जाभियर तेबासले सामाजिक सञ्जाल ‘एक्स’ मा रेफ्रिङ प्रणालीलाई थप पारदर्शी बनाउने प्रयास प्रस्ताव जानकारी दिए। तर, रियलले ती परिवर्तनहरूको विपक्षमा मतदान गरेको र वैकल्पिक समाधान पनि प्रस्तुत नगरेको टिप्पणी गरेका छन्।