काठमाडौं। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार नेपाल र थाइल्यान्डबीच त्रिकोणात्मक टी–२० आई महिला शृंखलाको चौथो खेल हुँदैछ। खेल दिउँसो १२:१५ बजे हुने छ।
दुवै टोलीले समान तीन खेल खेलिसकेका छन्। तर, पाहुना टोली थाइल्यान्डले अपराजित यात्रा कायम राख्दै उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरिरहँदा घरेलु टोली नेपाल भने अझै जितविहीन छ।
घरमै उपाधि राख्ने लक्ष्यसहित मैदान उत्रिएको नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ एकरुप प्रदर्शन गर्न सकेको छैन। त्यसैले पहिलो खेलमा २० रनले नेदरल्यान्ड्ससँग पराजित भएको नेपालले थाइल्यान्डलाई अर्को खेलमा पनि चार विकेटको जित सुम्पियो। नेदरल्यान्ड्ससँगको दोस्रो भेट पनि नेपालका लागि दुखदायी नै बन्यो। उक्त खेलमा सीता रानामगरले पाँच विकेट लिए पनि नेपाल १५ रनले पराजित भयो। यो खेलमा भने नेपाली टोलीको ब्याटिङ कमजोर देखियो।
अर्कोतर्फ भने थाइल्यान्डले सबै पक्षमा उत्कृष्ट प्रदर्शन गर्दै अपराजित यात्रा कायम राखेको छ। पहिलो खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले हराएको थाइल्यान्डले नेपाललाई चार विकेटले स्तब्ध पारेको थियो। लो स्कोरिङ अर्को खेलमा पनि थाइल्यान्डले ८६ को स्कोर जोगाउँदै १७ रनको सानदार जित हासिल गर्न सफल रह्यो।
तीन खेलबाट ६ अंकसहित थाइल्यान्ड शीर्ष स्थानमा रहँदा नेदरल्यान्डले पनि चार अंक पुर्याएको छ। नेदरल्यान्डले भने एक खेल बढी खेलिसकेको छ। तर, तीन खेल खेलेको नेपाल भने अझै अंकविहीन छ।
त्यसैले उपाधि घरैमा राख्न नेपाललाई थाइल्यान्डविरुद्ध जित्नै पर्ने दबाब छ। यदि नेपाल यो खेलमा पराजित भए उपाधि यात्रा समाप्त हुनेछ। तर, जितले भने गणितिय सम्भावना कायम राख्नेछ। त्यसपछि नेपालले बुधबार नेदरल्यान्ड्स र अन्तिम खेलमा थाइल्यान्डलाई चुनौती पेस गर्नेछ।