काठमाडौं। चेल्सीले इङ्लिस प्रिमियर लिगअन्तर्गत सोमबार स्टाम्फोर्ड ब्रिजमा वेस्ट ह्यामलाई २-१ ले पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेको छ। वेस्ट ह्यामका प्रशिक्षक ग्रहाम पोटरका लागि यो खेल दुखदायी पुनरागमन बन्यो। उनी अप्रिल २०२३ मा चेल्सीबाट सात महिनामै बर्खास्त भएका थिए।
चेल्सी पछिल्ला आठ खेलमा दोस्रो पटक विजयी भएको हो। यो जितसँगै चेल्सी लिगको चौथो स्थानमा उक्लिएको छ। २४ खेलबाट ४३ अंक जोडेको चेल्सीले म्यानचेस्टर सिटीलाई दुई अंकले पछि पारेको छ भने तेस्रो स्थानमा रहेको नटिङ्घम फरेस्टभन्दा चार अंकले पछाडि छ। वेस्ट ह्याम भने २७ अंकसहित १५औं स्थानमै सीमित छ।
इङ्ग्ल्यान्डका फरवार्ड जारोड बोवेनले ६ खेल गुमाएपछि पुनः मैदानमा फर्किएका थिए। पहिलो हाफको ४२औं मिनेटमा उनले वेस्ट ह्यामलाई अग्रता दिलाए। लेभी कोलविलले दिएको ब्याक पास निकै कमजोर रह्यो। जसको फाइदा उठाउँदै बोवेनले गोलकिपर फिलिप योर्गेन्सेनलाई छलाएर गोल गरे। योर्गेन्सेनले लय गुमाएका रबर्ट सान्चेजको स्थान लिएका थिए।
तर, वेस्ट ह्यामले खेलमा नियन्त्रण लिने संकेत दिइरहेको बेला चेल्सीले खेलमा पुनरागमन गर्यो। ‘अग्रता लिएर पनि खेल हार्दा निराश छु,’ बोवेनले भने, ‘हामीले आफ्नो सम्पूर्ण प्रयास गरेका थियौं। शीर्ष चारमा पुग्न प्रयासरत टोलीसँग प्रतिस्पर्धा गर्न आएका थियौं। यो नतिजा फरक हुन सक्थ्यो।’
एनजो फर्नान्डेजको प्रहार वेस्ट ह्यामको डिफेन्डरले लाइनमा रोके पनि रिबाउन्ड पेड्रो नेटोले बल जित्दै गोल गरे।
खेलको अन्तिम १६ मिनेट बाँकी छँदा कोल पामरको प्रयासले चेल्सीलाई विजय दिलायो। पामरले दिएको क्रस वेस्ट ह्यामका डिफेन्डर आरोन वान-बिसाकाको खुट्टामा लागेर आत्मघाती गोलमा परिणत भयो।