काठमाडौं। स्पेनका स्ट्राइकर अल्भारो मोराटा लोनमा एसी मिलानबाट गालाटासरायमा अनुबन्धित भएका छन्। दुबै क्लबले आइतबार साँझ उक्त सम्झौताबारे घोषणा गरेका हुन्।
गालाटासरायले मोराटालाई सन् २०२६ को जनवरी २० सम्म लोनमा राख्न मिलानलाई ६ मिलियन युरो तिर्नेछ। साथै, उक्त सम्झौता स्थायी बनाउनका लागि आठ मिलियन युरोमा किन्ने विकल्प रहेको क्लबले जनाएको छ।
यदि उक्त खरिद विकल्प सक्रिय गरियो भने मोराटालाई प्रतिसिजन ६ मिलियन युरो तलब दिइनेछ। मोराटाले यसअघि चेल्सी, युभेन्टस, रियल मड्रिड र एथ्लेटिको मड्रिडमा पनि खेलेका थिए। उनले यो सिजन विभिन्न प्रतियोगितामा २५ खेल खेल्दै ६ गोल र दुई असिस्ट गरेका थिए।
मोराटाको स्थान मिलानमा मेक्सिकन स्ट्राइकर सान्टियागो जिमेनेजले लिएका छन्, जो फेयेनोर्डबाट अनुबन्धित भएका हुन्। मिलानले जिमेनेजसँग सन् २०२९ को जुन ३० सम्मको सम्झौता गरेको जनाएको छ।