काठमाडौं। वान डे क्रिकेट एकेडेमी र फरेभर क्रिकेट ब्वाइज क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा विजयी सुरुआत गरेको छ।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा सोमबार सम्पन्न खेलमा वान डेले हिमालयन क्रिकेट एकेडेमी ‘बी’ र फरेभरले नेक्सस क्रिकेट एकेडेमीलाई पराजित गरेको हो।
पहिलो खेलमा वान डेले ग्रेट हिमालयनलाई ५७ रनको जित निकाल्यो। वान डेले दिएको १२४ रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयन १३ ओभरमा ६६ रनमै समेटियो।
हिमालयनका अभिषेक बुढाऐरले सर्वाधिक २० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। वान डेका मणी गैरेले सर्वाधिक पाँच विकेट लिए। विकल्प थापाले दुई र भुपेश्वर महतोले एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको वान डेले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १२३ रन बनाएको थियो। वान डेका विश्वास खत्रीले सर्वाधिक २९ रन बनाए। नीरज ओली २५ र भुपेश्वर महताले १३ रन बनाए।हिमालयनका सुमन विश्वकर्माले सर्वाधिक चार विकेट लिए। आदित्य थापाको नाममा दुई विकेट रह्यो।
सोमबारै सम्पन्न अर्को खेलमा फरेभरले नेक्ससविरुद्ध पाँच विकेटको जित हात पार्यो। नेक्ससले दिएको ११२ रनको लक्ष्य फरेभरले १७.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो।
फरेभरका जितिन थापाले सर्वाधिक २७ रन बनाए। अजय नकर्मी २२ रनमा आउट हुँदा कृष्ण भट्ट १२ रनमा अविजित रहे। नेक्ससका विपुल फुँयालले दुई विकेट लिए। सुरज राई र संयोग दाहालको नाममा एक/एक विकेट रह्यो।
त्यसअघि पहिला ब्याटिङ थालेको नेक्ससले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १११ रन बनाएको थियो। नेक्ससका दिलसद आलमले अविजित रहँदै सर्वाधिक ६३ रन बनाए। अनिलकुमार यादव १६ र काशिफ समदले १० रनको योगदान दिए।
फरेभरका अजय नकर्मी र पंकज पन्तले दुई/दुई विकेट लिए। लक्ष्मण कार्कीको नाममा एक विकेट रह्यो।