काठमाडौं। विवेककुमार यादवको अर्धशतकसँगै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीमा लगातार दोस्रो जित हात पारेको छ। सोमबार सम्पन्न समूह बी को खेलमा अत्तरियाले क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौंलाई ८६ रनले पराजित गरेको हो।
जितसँगै अत्तरियाले दुई खेलबाट चार अंक पुर्याएको छ। काठमाडौंले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ। अत्तरियाले दिएको १४३ रनको लक्ष्य पछ्याएको काठमाडौंले १२.२ ओभरमा सबै विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो।
काठमाडौंका सोनु अन्सारीले सर्वाधिक १५ रन बनाए। विपिन आचार्याले ११ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। काठमाडौंलाई सस्तैमा रोक्न कमल गुप्ताले सर्वाधिक पाँच विकेट लिए। ३.२ ओभर बलिङ गरेका उनले १० रन मात्रै खर्चिए। दीपेश कँडेलले दुई विकेट लिँदा शहवब आलम र सुनिल साउदको नाममा समान एक विकेट रह्यो।
त्यसअघि पहिला ब्याटिङ थालेको अत्तरियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४२ रन बनायो। अत्तरियाका विवेकले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए। ३५ बल खेली उनले चार चौका र चार छक्का प्रहार गरे।
कप्तान सन्तोष कार्की २३, सन्दीप क्षेत्री १६ र शंकर राणा १४ रनमा आउट भए। काठमाडौंका दीपेन्द्र रावत र युनिस ठकुरीले समान दुई विकट लिए। सूर्य तामाङ, नितेश यादव र विपिन आचार्याको नाममा समान एक विकेट रह्यो।