काठमाडौं। कुशल भुर्तेलको सानदार बलिङसँगै फ्रेन्ड्स युथ क्लब डडेलधुराले अर्जुन ट्रफीमा लगातार दोस्रो जित निकालेको छ। सोमबार सम्पन्न खेलमा फ्रेन्ड्सले बोस्टन क्रिकेट झापालाई ७७ रनले पराजपत गरेको हो।
शीर्ष स्थानमा रहेको फ्रेन्ड्सले जितसँगै दुई खेलबाट चार अंक पुर्याएको छ। फ्रेन्ड्सले यसअघि घनगढी क्रिकेट टिमलाई आठ विकेटले पराजित गरेको थियो। झापाले भने पहिलो खेलमै हार बेहोरको हो।
फ्रेन्ड्सले दिएको १४४ रनको लक्ष्य पछ्याएको झापाले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदै ६६ रन मात्रै बनाउन सक्यो। खराब मौसमका कारण खेलमा पाँच/पाँच ओभर घटाइएको थियो।
झापाका सनम बूढाथोकीले सर्वाधिक १७ रन बनाए। दिपु भुजेलले १५ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्। फ्रेन्ड्सका कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए। तीन ओभर बलिङ गरेका उनले एक मेडनसहित १२ रन खर्चिए।
अजय चौहानले दुई विकेट लिँदा रवी विष्ट, आवाज गौतम र सन्दीप जोराको नाममा समान एक विकेट रह्यो। त्यसअघि कैलालीको घनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको फ्रेन्ड्सले १५ ओभरमा तीन विकेट गुमाउँदै १४३ रन बनाएको थियो।
फ्रेन्ड्सका ओपनर आयुषमान बमले सर्वाधिक ५७ रन बनाए। ३६ बल खेलेका उनले सात चौका र एक छक्का प्रहार गरे। यस्तै, सन्दीप जोराले ३० बलमा चार चौका र चार छक्कासहित ५१ रन बनाए। किरण ठगुन्ना २१, कुशल भुर्तेल दुई र विनोद भण्डारी पाँच रनमा पभिलियन फर्किए।
झापाका अर्जुन ऐरीले दुई र पवन कार्कीले एक विकेट लिए।