काठमाडौं। क्रिस्टल प्यालेससँग प्रिमियर लिगमा आइतबार भएको खेलमा म्यानचेस्टर युनाइटेडका डिफेन्डर लिसान्ड्रो मार्टिनेजले चोट बोकेका छन्। युनाइटेडका मुख्य प्रशिक्षक रुबेन अमोरिमले यो चोटलाई ‘गम्भीर’ भनेका छन्।
७६औं मिनेटमा प्यालेसका फरवार्ड इस्माइला सारलाई रोक्ने प्रयास गर्दा अर्जेन्टिनी अन्तर्राष्ट्रिय खेलाडी मार्टिनेजले बायाँ घुँडामा चोट बोकेका थिए। उनी पीडाले छटपटाएपछि लामो समयसम्म मैदानमै उपचार गरिएको थियो। उनको यो अवस्था देखेर टोलीका खेलाडीहरू चिन्तित देखिन्थे।
२७ वर्षीय मार्टिनेजलाई ओल्ड ट्राफोर्डका समर्थकहरूले ताली बजाएर मैदानबाट बिदाइ गरे। उक्त खेलमा युनाइटेड २–० ले पराजित भयो। ‘हामी आगामी दिनहरूमा यसको विस्तृत जानकारी दिनेछौं। तर, मलाई लाग्छ यो गम्भीर स्थिति हो,’ अमोरिमले भने, ‘उनी केवल उत्कृष्ट खेलाडी मात्र होइनन्, ड्रेसिङ रुमका बलियो चरित्र पनि हुन्। उनी आफैंले यो चोटलाई गम्भीर मानेका छन्, किनकि खेलाडीलाई आफूलाई के भएको छ भन्ने थाहा हुन्छ।’
मार्टिनेजले गत सिजन पनि चोटका कारण धेरै समय मैदान बाहिर बिताएका थिए। उनले घुँडाको लिगामेन्टको चोट र खुट्टाको समस्याका कारण खेल गुमाएका थिए।