काठमाडौं। आर्सनलविरुद्ध प्रिमियर लिगको खेलमा म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डलाई असहज परिस्थिति सामना गर्नुपर्यो।
खेलका क्रममा दुई विपक्षी खेलाडी मायल्स लुइस–स्केली र इथान एन्वानेरीले गोल पछि हालान्डलाई चिढ्याएका थिए भने इमिरेट्स स्टेडियमको भीडले पनि उनको अघिल्लो खेलका उत्तेजक टिप्पणीहरूको सम्झना गरायो।
चार महिनाअघि इतिहाद स्टेडियममा भएको २–२ को बराबरी खेलमा हालान्डले अन्तिम गोल पछि बल आर्सनलका डिफेन्डर गाब्रिएलतर्फ फ्याँकेका थिए। उनी त्यतिमै रोकिएनन्। आर्सनलका मुख्य प्रशिक्षक मिकेल आर्टेटालाई भने, ‘स्टे हम्बल, ए?’ आइतबारको खेलमा आर्सनलले सिटीलाई ५–१ ले पराजित गरेपछि हालान्डलाई त्यो टिप्पणी महँगो पर्यो।
आर्सनलले खेलको दोस्रो मिनेटमा कप्तान मार्टिन ओडेगार्डको गोलबाट अग्रता लिएपछि गाब्रिएलले हालान्ड सामुन्ने पुगेर तालि पिट्दै खुसी मनाएर प्रतिशोध लिए। पहिलो हाफमा केवल ६ पटक बल छोएका हालान्डले दोस्रो हाफको ५५औं मिनेटमा साविन्होको क्रसमा हेडर गोल गरे। उनको करियरको यो २५०औं गोल थियो। तर, ३८ सेकेन्डपछि नै थोमस पार्टीले अर्को गोल गर्दै आर्सनललाई पुन: अग्रता दिलाए।
६२औं मिनेटमा १८ वर्षीय स्केली आर्सनललाई ३–१ को अग्रता दिलाउँदै हालान्डको प्रख्यात ‘जेन’ सेलिब्रेसनको नक्कल गर्दै बसेर खुसी मनाए। गत सेप्टेम्बरको २–२ खेलमा हालान्डले स्केलीलाई अवहेलना गर्ने शब्द प्रयोग गरेको प्रसंग पनि यस खेलमा जोडिएको थियो। प्रिमियर लिगले आफ्नो आधिकारिक ‘एक्स’ साइटमा गाब्रिएल र हालान्डबीचको त्यो विवादित क्षणलाई ‘एर्लिङ हालान्ड र गाब्रिएलको लामो चलिरहेको श्रृंखलाको अर्को अध्याय’ भनेर व्याख्या गर्दै पोस्ट गरेको छ।
खेलका क्रममा गाब्रिएलले फ्री किक जितेपछि हालान्डले उनलाई उठाउन प्रयास गरेका थिए। तर, गाब्रिएलले हात दिन अस्वीकार गरे। केही मिनेटपछि हालान्डले गाब्रिएलतर्फ इशारा गर्दै आफ्नो जर्सीको प्रिमियर लिग ‘ब्याज’ देखाउँदै आफूले उपाधि जितिसकेको संकेत गरेर झन चिढ्याय।
एउटा आर्सनल समर्थकले ‘स्टे हम्बल, ए?’ लेखिएको प्लेकार्ड बोकेको दृश्य देखिएको थियो। खेल समाप्त भएपछि आर्सनलले स्टेडियममा केन्ड्रिक लामारको ‘हम्बल’ गीत बजाएर माहोल थप रोचक बनाएको थियो। आर्सनलका मिडफिल्डर डेक्लान राइसले भने, ‘यो केही समयदेखि निर्माण हुँदै आएको कुरा हो। इतिहादमा सिजनको सुरुमा जे भए पनि त्यो आगोको रुपमा फैलिएको छ।’