काठमाडौं। बायर लेभरकुसेनले हफेनहेमलाई ३–१ ले पराजित गर्दै बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखसँग प्रतिस्पर्धा कायम राखेको छ।
बायर्नसँगको दूरी घटाउँदै बायर लेभरकुसेनले आइतबार हफेनहेमलाई ३–१ ले हरायो। योसँगै लेभरकुसेनले २० खेलबाट ४५ अंक पुर्याएको छ। समान खेलबाट बायर्नको ५१ अंक छ।
यो जितमा नाइजेरियन फरवार्ड भिक्टर बोनिफेसको कमब्याक विशेष रह्यो। बोनिफेसले साउदी क्लब अल–नासरसँगको प्रस्तावित सम्झौता भंग भएपछि पहिलो पटक मैदानमा उत्रिँदै आफ्नो पहिलो शटमा गोल गरे। नोभेम्बरको सुरुमा थाइ इन्जुरीको कारण मैदान बाहिर रहेका बोनिफेसले पहिलो हाफ खेलेर दोस्रो हाफमा पाट्रिक शिकलाई स्थान दिए।
‘उनलाई खेलमा समय चाहिन्छ। उनको खेलमा ध्यान केन्द्रित छ र हामीलाई सिजनको दोस्रो हाफका लागि आवश्यक छ,’ लेभरकुसेनका प्रशिक्षक जाबी आलोन्सोले भने।
१९औं मिनेटमा जेरेमी फ्रिमपोङले अग्रता दोब्बर बनाए। पाट्रिक शिकले ५१औं मिनेटमा फिलिपको बचाउपछि आएको बलमा गोल गरे। यो सिजनको उनको यो १४औं लिग गोल हो।
६१औं मिनेटमा एलेक्स ग्रिमाल्डोले रेड कार्ड पाएपछि खेलको बाँकी समय लेभरकुसेन १० खेलाडीमा सिमित हुनुपर्यो। त्यसपछि हफेनहेमका सब्स्टिट्युट गिफ्ट ओरबानले एक मिनेटमै गोल गर्दै हफेनहेमलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, त्यो पर्याप्त रहेन। लेभरकुसेनले अब बुधबार जर्मन कपको क्वार्टरफाइनलमा स्थानीय प्रतिद्वन्द्वी कोलोनको सामना गर्नेछ।