काठमाडौं। आर्सेनलले आइतबार प्रिमियर लिगको शीर्षक होडमा सशक्त सन्देश दिँदै साविक विजेता म्यानचेस्टर सिटीलाई ५–१ को फराकिलो अन्तरले हराएको छ। योसँगै शीर्ष स्थानको लिभरपुलसँगको दूरी ६ अंकमा झारेको छ।
कप्तान मार्टिन ओडेगार्डले दोस्रो मिनेटमै आर्सेनललाई अग्रता दिलाएका थिए। तर, पहिलो हाफमा केवल ६ पटक बल छोएका एर्लिङ हालान्डले दोस्रो हाफको ५५औं मिनेटमा साविन्होको क्रसमा हेड गोल गरे। उनको करियरको यो २५०औं गोल हो। त्यससँगै सिटीले खेलमा फर्किने संकेत देखाएको थियो। तर, अन्ततः लगातार पाँचौं उपाधि जित्ने सम्भावना बलियो बनाउने सिटीको सपना लन्डनको रातसँगै बिलाएर गयो।
खेलको दोस्रो हाफमा ग्याब्रियल मार्टिनेली, थोमस पार्टी, मायल्स लुइस–स्केली र इथान एन्वानेरीले गोल गर्दै आर्सेनललाई फराकिलो जित दिलाए। आर्सेनलले लिगमा लगातार १४ खेलमा अपराजित रहँदै २४ खेलबाट ५० अंक पुर्याएको छ। शीर्ष स्थानमा रहेको लिभरपुलको २३ खेलबाट ५६ अंक छ। सिटी भने ४१ अंकसहित चौथो स्थानमा छ।
यस सिजन आर्सेनललाई सेट पिस गोलहरूमा निर्भर रहेको आरोप लगाइँदै आएको छ। तर, आइतबारको खेलमा आर्सेनलले प्रवाह र शैलीसहित सिजनकै सबैभन्दा ठूलो घरेलु जित निकाल्यो। ‘यो उत्कृष्ट खेल र प्रदर्शन थियो। फ्यान र वातावरण पनि उत्कृष्ट थियो। अन्ततः हामीले योग्य नतिजा पायौं,’ ओडेगार्डले भने।
सिटीले लिगमा लगातार ६ खेल अपराजित रहँदै राम्रो लयमा रहेको संकेत दिएको थियो। तर, आइतबार सामान्य अवस्थामा मात्रै राम्रो देखिए। विशेष गरी पहिलो हाफको अन्त्यतिर गोलकिपर डेविड रायाले दुई महत्त्वपूर्ण बचाउ गर्दा सिटीलाई केही राहत मिलेको थियो।
‘यो कठिन छ। हामी सबैले हारलाई राम्रोसँग लिदैनौं। यो खेललाई शब्दमा व्यक्त गर्न गाह्रो छ,’ सिटीका डिफेन्डर जोन स्टोन्सले भने, ‘अन्तिम ३० मिनेटको हाम्रो खेल स्वीकार्य थिएन।’
आर्सेनल अब लिग कप सेमिफाइनलको दोस्रो लेगमा न्यु क्यासलसँग खेल्नेछ भने सिटीले च्याम्पियन्स लिगको प्लेअफमा रियल मड्रिडको सामना गर्नेछ।