काठमाडौं। भारतले इङ्ल्यान्डमाथि दोस्रो ठूलो जित निकाल्दै पाँच खेलको टी–२० शृंखला ४–१ ले जितेको छ। वानखेडे स्टेडियममा भएको खेलमा अभिषेक शर्माको १३५ रनको कीर्तिमानी इनिङ्सको मद्दतमा भारतले ९ विकेटको क्षतिमा २४७ रन बनाएको थियो।
जवाफमा इङ्ल्यान्ड ९७ रनमा अलआउट भएपछि भारत १५० रनले विजयी भएको हो। सन् २०२३ मा भारतले न्युजिल्यान्डलाई १६८ रनले पराजित गरेको थियो, जुन टी–२० मा उसको सबैभन्दा ठूलो जित हो। यद्यपि, बलरहरूले पनि टोलीलाई जिताउन विशेष प्रदर्शन गरे। बलिङतर्फ मोहम्मद सामीले २५ रन खर्चेर तीन विकेट लिए। वरुण चक्रवर्ती, शिवम दुबे र अभिषेक शर्माले समान दुई विकेट लिए।
इङ्ल्यान्डका लागि फिलिप साल्टसँगै बेन डन्केट ओपनिङमा आएका थिए। साल्टले सुरुमा आक्रमण बयाटिङ गरे पनि तेस्रो ओभरको पहिलो बलमा आउट भए। त्यसपछि राम्रो फर्ममा रहेका कप्तान जोस बटलरले यसपटक सात रन मात्र बनाउन सके।
रवि बिश्नोईले ह्यारी ब्रुकको विकेट लिएर इङ्ल्यान्डलाई पावरप्लेमा तेस्रो झट्का दिए। त्यसपछि आएका वरुणले लिभिङस्टनको विकेट लिए। यस्तै, फिलिप साल्टले २१ बलमा अर्धशतक पूरा गरे। उनलाई शिवम दुबेले विकेटकिपर स्यामसनको हातबाट क्याच आउट गराए। साल्ट आउट हुनासाथ कार्सी तीन, ओभरटन एक, आदिल राशिद ६ र मार्क वुड शून्य रनमा आउट भए।
त्यसअघि भारतका ओपनरद्वयले पहिलो विकेटका लागि २१ रनको साझेदारी गरेका थिए। सन्जुले १६ रन बनाए। अभिषेक शर्माले मात्र १६ बलमा अर्धशतक बनाए।
क्रिजमा आएका तिलक वर्माले १५ बलमा २४ रन बनाए। यस क्रममा अभिषेकले ३७ बलमा शतक पूरा गरे। यो उनको दोस्रो टी–२० शतक हो। सूर्यकुमार यादव दुई रनमा आउट भए। तर शिवमले अभिषेकसँग राम्रो साझेदारी गरे। शिवमले १३ बलमा ३० रन बनाए। हार्दिक पाण्ड्या नौ रन बनाएर मार्क वुडको बलमा लिभिङस्टनको हातबाट क्याच भए।
रिंकू सिंहले नौ रन बनाए। अभिषेकले ५४ बलमा ७ चौका र १३ छक्काको मद्दतमा १सय ३५ रन बनाए। अन्त्यमा अक्षर पटेलले १५ रन जोड्दै स्कोर २४७ पुर्याएका थिए।