काठमाडौं। मार्कस रासफोर्ड ओल्ड ट्राफोर्डबाट टाढिने दिन नजिकिँदै गर्दा म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा क्रिस्टल प्यालेससँग घरेलु मैदानमा २–० को पराजय भोग्नुपर्यो।
आइतबार युनाइटेडका लागि थप नराम्रा खबर पनि आए। अर्जेन्टिनी डिफेन्डर लिसान्ड्रो मार्टिनेज बाँया घुँडाको चोटका कारण आँसु झार्दै स्ट्रेचरमा मैदानबाट बाहिरिनुपर्यो।
जीन–फिलिप माटेटाले दोस्रो हाफ गरेको दुई गोल नै क्रिस्टल प्यालेसको जितमा पर्याप्त बन्यो। योसँगै युनाइटेडको सबै प्रतियोगितामा रहेको लगातार तीन खेलको अपराजित यात्रा ब्रेक लागेको छ। यो जितको शृंखला मुख्य प्रशिक्षक रुबेन अमोरिमले ‘युनाइटेड सायद क्लब इतिहासकै सबैभन्दा कमजोर टोली’ भनेपछि सुरु भएको थियो।
अमोरिमको समय अब रासफोर्डबिना नै बित्न सक्ने देखिएको छ। खबरहरूका अनुसार रासफोर्ड एस्टन भिल्लामा जाने छन्। सम्झौताका लागि उनले मेडिकल परीक्षण गरिरहेका छन्। रासफोर्डको अनुपस्थितिमा पनि अमोरिमले कुनै शुद्ध स्ट्राइकर मैदानमा खेलाएनन्। त्यसले गर्दा युनाइटेडले प्यालेसविरुद्ध खासै दबाब सिर्जना गर्न सकेन। प्यालेसले काउन्टर अट्याकमा खेल नियन्त्रण लियो। माटेटाले ६४औं र ८९औं मिनेटमा गोल गरे।
युनाइटेडले यो सिजन प्रिमियर लिगमा पहिलो १३ घरेलुमध्ये सात खेलमा पराजय भोगेको छ। सन् १८९३–९४ सिजनपछि क्लबले पहिलोपल्ट यस्तो खराब नतिजा हात पारेको हो। अमोरिमको प्रशिक्षणमा पछिल्ला ६ घरेलुमध्ये पाँच खेलमा युनाइटेड पराजित भएको छ।
‘यहाँ खेल्न गाह्रो छ। किनभने हामी हाम्रा समर्थकहरूलाई खुसी बनाउन चाहन्छौं,’ अमोरिमले भने, ‘यो सिजन यस्तै हुनेछ, मैले पहिलो दिनदेखि नै भनेको थिएँ।’
क्रिस्टल प्यालेसले युनाइटेडलाई पछि पार्दै १३औं स्थानमा झारिदियो। युनाइटेड भने टोटनह्याभन्दा एक स्थान र दुई अंक अगाडि छ। टोटनह्याले ब्रेन्टफोर्डलाई २–० ले हराउँदै लिगमा चार खेलको हारको शृंखला तोडेको थियो।
पहिलो हाफमा भिटाली ज्यानेल्टको आत्मघाती गोलसँगै टोटनह्याले सुरुआती अग्रता लिएको थियो। ८७औं मिनेटमा पेपे सारले दोस्रो गोल गर्दै जित सुनिश्चित गरे। ‘हामीलाई ठूलो प्रयास आवश्यक थियो र खेलाडीहरूले त्यो गरे,’ टोटनह्याका प्रशिक्षक एन्जे पोस्टेकोग्लुले भने, ‘खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रह्यो।’
यो नतिजाले टोटनह्यालाई लिभरपुलविरुद्धको सिजनकै सबैभन्दा महत्त्वपूर्ण खेल मानिएको इङ्लिस लिग कप सेमिफाइनलको दोस्रो लेगअघि ठूलो हौसला प्रदान गरेको छ। पहिलो लेगमा टोटनह्या १–० ले अगाडि छ।