काठमाडौं। रोबर्ट लेवान्डोव्स्कीले दोस्रो हाफमा निर्णायक गोल गरेपछि आइतबार बार्सिलोनाले अलाभेसलाई १–० ले पराजित गरेको छ। योसँगै बार्सिलोनाले स्पेनिस लिगको शीर्ष स्थानमा रहेको प्रतिस्पर्धी रियल मड्रिडसँग चार अंकको दूरी घटाएको छ।
रियल शनिबार इस्पान्योलसँग १–० ले पराजित भएको थियो। यसअघि रियलले सबै प्रतियोगिताका ११ मध्ये १० खेल जितेको थियो। तेस्रो स्थानमा रहेको बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा तीन अंकले पछाडि छ। एट्लेटिकोले शनिबार मालोर्कालाई २–० ले हराउँदै लिगमा दुई खेलको जितविहीन यात्रा तोडेको थियो।
‘हामीलाई यो खेल जित्नैपर्ने थियो, हामीले लिगमा धेरै अंक गुमाइसकेका थियौं,’ लेवान्डोव्स्कीले भने। पोल्यन्डका स्ट्राइकरले सबै प्रतियोगिताका चार खेलमा लगातार गोल गरेका छन्। पछिल्ला आठ खेलमा उनको यो सातौं गोल हो।
उनले लामिन यामालको भली विपक्षी डिफेन्डरलाई ‘डिफ्लेक्ट’ भएपछि नजिकैबाट गोल गरेका थिए। बार्सिलोनाका लागि यो असामान्य रुपमा कम स्कोर भएको खेल थियो। पछिल्ला तीन खेलमा बार्सिलोनाले १४ गोल गरेको थियो, जसमा भ्यालेन्सियालाई लिगमा ७–१ ले पराजित गरेको खेल पनि समावेश छ।
‘हरेक पटक हामीले तीन, चार वा पाँच गोल गर्न सक्दैनौं,’ लेवान्डोव्स्कीले भने, ‘धैर्य रहनु जरुरी थियो र अन्ततः हामीले आफ्नो काम पूरा गर्यौं, जसमा प्रतिद्वन्द्वीभन्दा एक गोल बढी गर्नु थियो।’ अलाभेसले कुनै पनि प्रहार लक्ष्यमा राख्न सकेन र हारपछि पनि रेलिगेसन क्षेत्रमै रह्यो। अलाभेसले पछिल्ला ११ मध्ये केवल एक खेल जितेका छन्।