काठमाडौं। ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले क्लबलाई प्रोत्साहन तथा पुरस्कार रकम वितरण समारोहमा आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईलाई इंगित गर्दै भने, ‘यो वर्ष लिग नहुने भयो हैन त ?’
डायसमा आसित एन्फाका महासचिव राई मुस्कुराए मात्रै। उनको बोल्ने पालो पनि गइसकेको थियो। महानगर प्रमुख महर्जनले कटाक्ष गरेपछि हल हाँसोले गुञ्जायमान भयो। उनले थपे, ‘लिग नहुने हो भने फुटबलको स्तर नराम्रोसँग झर्छ। कुनै पनि हालतमा लिग गर्नुपर्छ। खेलाडी पलायनको क्रम झन् बढ्छ। त्यसैले पनि लिग हुनै पर्छ।’
एन्फाले २०७९ सालपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गरेको छैन, जसले सयौं खेलाडी बेरोजगार भएका छन्। खेलाडीहरू नकआउटकै भरमा टिकेका छन्। अस्ट्रेलियालगायत विदेश पलायन तीव्र छ, जसको मुख्य कारण शीर्ष श्रेणीको लिग नहुनुलाई मानिएको छ।
यो २०८१ सालमा पनि ‘ए’ डिभिजन लिग आयोजना गर्ने छाँटकाँट छैन। गत वर्ष ‘सी’ डिभिजन लिग आयोजना गरेको थियो। ‘बी’ डिभिजन लिग फागुन २५ गतेदेखि सञ्चालन गर्ने घोषणा एन्फाले गरेको छ।
उक्त कार्यक्रममा ललितपुर उपमहानगरपालिकाले ललितपुरका ‘ए’ डिभिजन क्लबलाई वार्षिक चार लाख, ‘बी’ डिभिजनकालाई तीन लाख र ‘सी’ डिभिजनका क्लबलाई दुई लाख प्रोत्साहन रकम दियो। प्रत्येक नकआउट उपाधिको पनि चार लाख दियो।
महानगरले समग्रमा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडले २४ लाख, ‘बी’ डिभिजन टिम ब्रिगेड ब्वाइजले ११ लाख पाए। ‘ए’ डिभिजनका पाँच, ‘बी’ श्रेणीका तीन, ‘सी’ डिभिजनका चार र नकआउट प्रतियोगिता (सात) का विजेतालाई गरी कुल ६५ लाख वितरण गरियो।