काठमाडौं। ललितपुर महानगरपालिकाले ललितपुरका फुटबल क्लबलाई प्रोत्साहन तथा पुरस्कार दिने क्रममा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २४ लाख रुपैयाँ प्रदान गरेको छ।
महानगरले ‘ए’ डिभिजन लिगको प्रोत्साहनस्वरुप चार लाख तथा पाँच वटा नकआउट प्रतियोगिताको उपाधि जितेको आधारमा २४ लाख दिएको हो। चर्च ब्वाइजले एक वर्षयता झापा गोल्डकप, इटहरी गोल्डकप, भोजपुर गोल्डकप, झापा कप र फाल्गुनन्द गोल्डकपको उपाधि जितेको थियो। ललतिपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले एक कार्यक्रमवीच आइतबार चर्च ब्वाइजका अध्यक्ष टंकलाल राईलाई चेक हस्तान्तरण गरे।
ललितपुर महानगरपालिकाले ‘ए’ डिभिजन लिगका क्लबलाई प्रोत्साहनस्वरुप बार्षिक चार/चार लाख, ‘बी’ डिभिजन क्लबलाई तीन/तीन लाख र ‘सी’ डिभिजन क्लबलाई दुई/दुई लाख दिने गरेको छ। त्यस्तै, नकआउट प्रतियोगिताको उपाधि जित्ने क्लबलाई प्रत्येक उपाधिको चार लाख दिने गर्दछ। ‘बी’ डिभिजनको ब्रिगेड ब्वाइज क्लबले बेलबारी गोल्डकप, पथरीशनिश्चरे गोल्डकपको उपाधि तथा प्रोत्सहन रकम गरी ११ लाख प्राप्त गर्यो।
चर्च ब्वाइज अघिल्ले वर्ष ‘ए’ डिभिजन लिग च्याम्पियन भएको हो। पछिल्लोपल्ट ‘ए’ डिभिजन र ‘बी’ डिभिजन लिग नभए पनि महानगरले आठ क्लबलाई प्रोत्साहनस्वरुप २९ लाख बाँडेको हो। ललितपुरका पाँच क्लब (चर्च ब्वाइज, थ्रीस्टार, फ्रेन्ड्स, जावलाखेल र सातदोबाटो युवा क्लब) शीर्ष श्रेणीमा छन् भने ‘बी’ श्रेणीमा तीन टिम (च्यासल युवा क्लब, खुमलटार र ब्रिगेड ब्वाइज) छन्। ‘सी’ डिभिजन क्लबहरू खालिबारी, पुल्चोक, झम्सिखेल र सानेपा ललितपुरका हुन्।
‘थ्रीस्टारले पहिलो ३२ लाख पायो, यसपालि चर्च ब्वाइजले २० लाख,’ महानगर प्रमुख महर्जनले भने, ‘अर्कोपालि अझ धेरै दिन पाऊँ। थ्रीस्टारलाई पनि अर्कोपालि पुरस्कार दिन पाऊँ।’
उनले ललितपुरका एक उत्कृष्ट फुटबल खेलाडीलाई मासिक तलबको व्यवस्था गर्ने पनि बताए। ‘बी’ डिभिजनबाट ‘ए’ डिभिजन लिगमा उक्लिने क्लबलाई प्रोत्साहनस्वरुप २० लाख दिने व्यवस्था कायम रहेको पनि बताए।