काठमाडौं। रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले शनिबार एस्पान्योलसँग १–० को अप्रत्याशित पराजयपछि पनि ला लिगा उपाधि दौडमा आफ्नो टोली अझै अग्रस्थानमा रहेको बताएका छन्।
रियल ४९ अंकसहित शीर्ष स्थानमा छ। एट्लेटिको मड्रिडले मालोर्कालाई २–० ले हराएउँदै रियलसँगको दूरी एक अंकमा झारेको छ। यी दुई सहरी प्रतिद्वन्द्वी आगामी सातामा आमनेसामने हुनेछन्।
‘हामीसँग अवसरहरू थिए र गोल गर्न सक्थ्यौं। तर, पराजयको बावजुद हामी अझै उपाधि दौडमा कायम छौं। अब हामीले आगामी खेलमा ध्यान दिनुपर्छ, एन्सेलोटीले भने,’ हामीले राम्रो गर्न सक्थ्यौं, परिणाम उचित नै थियो।’
इटालियन प्रशिक्षक एन्सेलोटीले निर्णायक गोलकर्ता कार्लोस रोमेरोलाई केलिन एम्बाप्पेमाथि गरिएको फाउलको लागि रातो कार्ड नदिएको निर्णयको पनि आलोचना गरे। ‘यो स्पष्ट फाउल थियो, धेरै नराम्रो ट्याकल थियो। तर, भाग्यवश केही ठूलो घटना भएन,’ उनले भने।
डिफेन्डर एन्टोनियो रुडिगर मांसपेशी समस्याका कारण मैदानबाट बाहिरिएका थिए। एन्सेलोटीले जर्मन खेलाडीको अनुपस्थिति कति लामो समयको लागि हुने भन्नेबारे अहिल्यै भन्न नसकिने बताए। ‘उनले चोट बोकेका छन् र हामीले यसको मूल्यांकन गर्नुपर्नेछ। अहिले नै यसको बारेमा केहि भन्न सक्दिनँ,’ उनले भने।