काठमाडौं। नेपाल यस्तो एक मात्र टोली हो, जो घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा जितविहीन छ।
पाहुना टोली थाइल्यान्डले दुई र नेदरल्यान्ड्सले एक जित निकालिसक्दा नेपाल भने अंकविहीन रहँदै पुछारमा छ। यस्तो अवस्थामा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार नेदरल्यान्ड्सविरुद्ध दोस्रोपल्ट उत्रिँदा नेपाल पहिलो जितको खोजीमा हुनेछ। यी दुई बीचको खेल दिउँसो १२:१५ बजे हुनेछ।
शृंखलाको पहिलो खेलमै यी दुई टोली भिडेका थिए। तर, १५८ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो। यो खेलमा नेपाल २० रनले पराजित भएको थियो।
दोस्रो खेलमा भने नेपालले थाइल्यान्डलाई चार विकेटको जित सुम्पियो। समान दुई खेलको समाप्तिमा नेपाल र नेदरल्यान्ड्सको बाधक थाइल्यान्ड नै हो। यही टोलीले नेदरल्यान्ड्सलाई आफ्नो दोस्रो खेलमा आठ विकेटले हराएको थियो।
नेदरल्यान्ड्स उक्त हारको पीडा भुलेर नेपालविरुद्ध दोस्रो जितको खोजीमा हुनेछ। नेपाल भने यही टोलीलाई रोक्दै पहिलो हारको बदला लिने लक्ष्यमा हुनेछ।