काठमाडौं। ओस्मान डेम्बेलेले यस साता दोस्रो ह्याट्रिक गरेका छन्। उनले बुधबार मात्रै च्याम्पियन लिगमा जर्मन क्लब भिएफबी स्टटगार्टविरुद्ध ह्याट्रिक गर्दै ४–१ को जित दिलाएका थिए।
उनै डेम्बेलेको अर्को सानदार ह्याट्रिकसँगै लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार ब्रेस्टलाई ५–२ ले पराजित गरेको छ। यो जितसँगै पिएसजी लिग वानमा शीर्ष अपराजित यात्रा कायम राख्न सफल भएको टोलीले २० खेलबाट ५० अंक पुर्याएको छ। पिएसजी दोस्रो स्थानको ओलम्पिक डे मार्सेइभन्दा १३ अंकले अघि छ, जसको एउटा खेल बाँकी छ। आठौं स्थानको ब्रेस्ट भने २८ अंकमा छ।
‘म नम्बर ९ को भूमिकामा छु र मैले गोल गर्नैपर्छ। यो खेलमा मैले डिफेन्सको पछाडि अलिकति क्यारोट खेलेको जस्तो लाग्यो,’ डेम्बेलेले भने। उनी १४ गोलका साथ लिगमा शीर्ष स्कोररको सूचीमा उक्लिएका छन्।
ब्रेस्टले खेलको सुरुआतमा पिएसजीलाई निकै दबाबमा राखेको थियो। तर, ब्राडली बार्कोलाको पासमा डेम्बेले २९औं मिनेटमा पिएसजीलाई सुरुआती अग्रता दिलाए। तर, दोस्रो हाफको पाँचौं मिनेटमा रोमान डेल कास्टिलोले केनी लालाको पासलाई बराबरी गोल गरे।
डेम्बेलेले सात मिनेटपछि पिएसजीलाई पुनः अग्रता दिलाए। त्यसको पाँच मिनेटपछि डेम्बेलेले ह्याट्रिक पूरा गरे। ली काङ–इनको पास लिँदै उनले दुई डिफेन्डरलाई बिट गरेका थिए। ‘मेरो पहिलो गोलमा त केवल बललाई पुस गर्नु थियो। तेस्रो गोलमा काङ–इनको पास असाधारण थियो। त्यसैले पास दिने साथीलाई धन्यवाद दिनैपर्छ,’ डेम्बेलेले भने।
लुडोभिच अजोरकले ७१ औं मिनेटमा पेनाल्टी क्षेत्र बाहिरबाट सानदार प्रहार गर्दै गोल गरे। तर, घरेलु टोलीले अन्तिम समयमा बराबरीको खोजी गर्दा ८९औं मिनेटमा सब्स्टिच्युट गोनकालो रामोसले पिएसजीको अग्रता पुनः दुई गोलमा पुर्याए। डेजायर डुएले आफ्नै हाफबाट दौडिएर रामोसलाई उत्कृष्ट पास उपलब्ध गराएका थिए।
स्टपेज टाइममा रामोसले दोस्रो गोल गर्दै खेललाई ५–२ मा टुंग्याए। ब्रेन्डन चार्डोनेटले रामोसको प्रहार ब्लक गर्दा ‘स्ट्रे’ बल रामोसकै नियन्त्रणमा पुगेको थियो। पिएसजीले आगामी शुक्रबार मोनाकोलाई घरेलु मैदानमा आमन्त्रण गर्नेछ भने ब्रेस्टले सोही दिन नान्टेससँग खेल्नेछ।