काठमाडौं। ह्यारी केनले दुई गोलसँगै बायर्न म्युनिखले नवप्रवेशी होल्स्टेन किएललाई ४–३ को रोमाञ्चक जित हात पारेको छ।
बायर्नले चार गोलको अग्रता लिएपनि किएलले पुनरागमनको प्रयास गरेको थियो। फलत: अन्तिम समयमा निकै चुनौतीपूर्ण स्थितिमा खेल टुंगियो। किएलका स्टिभन स्क्रिजब्स्कीले स्टपेज टाइममा दुई गोल गरे भने फिन पोराथले एक गोल थपे। केनले पहिलो हाफ र दोस्रो हाफमा गोल गरेका हुन्। योसँग उनको गोल संख्या १९ पुगेको छ। उनी लिगको सर्वाधिक गोलकर्तासमेत हुन्।
खेलको १९औं मिनेटमा माइक ओलिसेले सेट गरेको पासबाट जमाल मुसियालाले गोलको खाता खोलेका थिए। बायर्नले सहज जिततर्फ अघि बढ्दै गर्दा सब्स्टिच्युट सर्ज नाब्रीले भली प्रहार गर्दै उत्कृष्ट गोल गरे। तर, पोराथको र स्क्रिजब्स्कीका गोलले खेलको अन्तिम समय बायर्नका लागि चुनौतीपूर्ण बनायो।
जितसँगै बायर्नले २० खेलबाट ५१ अंक पुर्याएको छ। बायर्नले शीर्ष स्थानमा नौ अंकको अग्रता लिएको छ। डिफेन्डिङ च्याम्पियन बायर लिभरकुसेनले आइतबार हफेनहाइमविरुद्ध जित हात पार्दै बायर्नसँगको अंक दूरी ६ मा झार्ने प्रयास गर्नेछ। २० खेलपछि किएल पुछारबाट दोस्रो स्थानमै छ। किएलको यो १४औं हार हो।