काठमाडौं। मोहम्मद सलाहको दुई गोलसँगै लिग लिडर लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आफ्नो अग्रता नौ अंकमा पुर्याएको छ।
शनिबार सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली बोर्नेमाउथलाई २–० ले पराजित गरेको हो। जितसँगै लिभरपुलले २३ खेलबाट ५६ अंक पुर्याएको छ। जुन दोस्रो स्थानको आर्सनलभन्दा नौ अंक बढी हो। समान खेल खेलेको आर्सनल र नटिंघम फरेस्टको समान ४७ अंक छ।
बोर्नेमाउथ भने एक खेल बढी खेल्दै ४० अंकसहित सातौं स्थानमा छ। यो हारसँगै बोर्नेमाउथले शीर्ष चारमा उक्लिने अवसर गुमाएको छ।
सलाहले ३०औं मिनेटमै पेनाल्टीमार्फत लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। ७५औं मिनेटमा उनले कर्टिस जोन्सको क्रसमा अर्को गोल थप्दै लिभरपुललाई १७औं जित दिलाए।