काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइज ललितपुर सिटी एफसीले इङ्लिस प्रशिक्षक साइमन ग्रेसनलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ।
साविक विजेता ललितपुरले नयाँ सिजनको एनएसएलको लागि लिड्स युनाइटेडका पूर्वप्रशिक्षक साइमनलाई क्लबमा भित्र्याएको हो। साइमन युएएफएका प्रो लाइसेन्स प्रशिक्षक हुन्।
लिड्सलाई इङ्लिस लिगको दोस्रो डिभिजन च्याम्यिनसिपमा छनोट गराएका साइमनले नयाँ सिजन ललितपुर सिटीलाई सम्हाल्ने क्लबले जनाएको छ। साइमनले लिड्स सहित हुडर्सफिल्ड टाउन र प्रेस्टन नर्थलाई समेत प्रशिक्षकको रुपमा च्याम्पियनसिपमा उकालेका थिए। साइमनले पछिल्लो समय इन्डियन सुपर लिगमा बैग्लुरु एफसीलाई सम्हाल्दै आएका थिए।
उनले नेतृत्वमा बैग्लुरुले डुरान्ड कप जितेको थियो भने इन्डियन सुपर लिग र सुपर कपको फाइनल खेलेको थियो। सन् १९९६ को इङ्लिस लिग कप विजेता साइमनले लामो समय लेस्टर सिटी, ब्ल्याकपुल, एस्टन भिल्ला र ब्ल्याकवर्नबाट व्यवसायीक फुटबल खेले।
इङ्लिस फुटबलका अनुभवी प्रशिक्षकको आगमनले क्लबसँगै नेपाली फुटबलले धेरै सिक्न पाउने ललितपुर सिटी एफसीले जनाएको छ। साविक विजेता ललितपुरले मुख्य प्रशिक्षकको अनुबन्धनसँगै नयाँ सिजनको तयारी थालेको छ। एनएसएलको तेस्रो सिजन चैत १६ गतेदेखि सुरु हुने तालिका छ।