काठमाडौं। सोनु देवकोटाको अलराउन्ड प्रदर्शनसँगै महावीर क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा लगातार दोस्रो जित हात पारेको छ।
शनिबार सम्पन्न खेलमा महावीरले थर्ड आइ युथ क्लबलाई ६८ रनले पराजित गरेको हो। अर्को खेलमा सम्पन्न खेलमा ओएसिसी क्रिकेट एकेडेमीले पुष्पलाल स्पोर्ट्स क्लबविरुद्ध ८३ रनको जित निकाल्यो ।
योसँगै समूह ‘ए’ को शीर्ष स्थानमा रहेको महावीरले चार अंक पुर्याएको छ। थर्ड आइ र ओएसिसीको समान खेलबाट दुई/ दुई अंक छ । महावीरले दिएको १६२ रनको लक्ष्य पछ्याएको थर्ड आइले २० ओभरमा आठ विकेट गुमाउँदै ९३ रन मात्रै बनाउन सक्यो ।
थर्ड आइका सुगम बानियाँले सर्वाधिक २३ रन बनाए पनि हार टार्न सकेनन्। यस्तै, समाज पौडेलले १४ र कृष्ण थापाले १३ रनको योगदान दिए। महावीरलाई लगातार जित दिलाउन सोनु र यकेन्द्र बुढाऐरले समान दुई विकेट लिए। एक विकेट प्रतिश जिसीको नाममा रह्यो।
यसअघि मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा टस जितेर ब्याटिङ रोजेको महावीरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६१ रन बनाएको थियो। महावीरका सोनुले सर्वाधिक ३७ रन बनाए। मिलन थापाले ३४ र प्रतिश जिसीले अविजित २४ रन बनाउँदै टोलीलाई बलियो स्थितिमा पुर्याए।
थर्ड आइका समाजले दुई विकेट लिए। सौराज थापा र अभिषेक कार्कीको नाममा समान एक विकेट रह्यो। अर्को खेलमा ओएसिसीले दिएको १६२ रनको लक्ष्य पछ्याएको पुष्पलालले १३.४ ओभरमा सबै विकेट गुमाउँदै ७८ रन मात्रै बनाउन सक्यो।
पुष्पलालका विक्की मन्डलले सर्वाधिक २१ रन बनाए। ओएसिसीलाई जित दिलाउन पञ्चाङ्ग मिश्र र निश्चल श्रेष्ठले समान तीन विकेट लिए। यसअघि पहिला ब्याटिङ थालेको ओएसिसीले आठ विकेट गुमाउँदै १६१ रन बनाएको थियो।
ओएसिसीका राजु विके र सुवोध ढुंगानाले समान ३५ रन बनाए। रोहन पुलामी मगरले ३४ रनको योगदान दिए। पुष्पलालका महेश भण्डारीको नाममा सर्वाधिक चार विकेट रह्यो। तर, उनको एकल प्रदर्शनले टोलीलाई जित दिलाउन सकेनन्।