काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक मोन्टी देसाईंलाई बिदा गरेको छ।
क्यानले उनलाई सन् २०२३ देखि टोलीको मुख्य प्रशिक्षक रहने गरी नियुक्त गरेको थियो। त्यतिखेर क्यानले उनीसँग दुई वर्षको कार्यकाल रहने गरी सम्झौता गरेको थियो। तर, उनी त्यो सम्झौता लम्बाएर चार वर्षमा पुर्याउन चाहन्थे।
यद्यपि, ओडिआई मान्यता गुम्ने खतरासँगै दोस्रोपल्ट एसिया कप छनोट र इमर्जिङ टिम्स एसिया कप खेल्ने अवसर गुमाएसँगै उनलाई क्यानले बिदा दिएको हो। ‘उहाँलाई दुई वर्ष कार्यकाल रहने गरी नियुक्त गरिएको हो। उक्त सम्झौता समाप्त अवगत नै छ,’ क्यान प्रवक्ता छुम्बी लामाले भने, ‘उहाँले दिनुभएको योगदानलाई धन्यवाद दिँदै सम्झौता नवीकरण नगर्ने निर्णय गरेका हौं।’
उनको प्रशिक्षणमा नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जितेको थियो। योसँग नेपालले आगामी चार वर्षका लागि ओडिआई मान्यता जोगाएको थियो। उनकै प्रशिक्षणमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सन् २०२३ मा आयोजना भएको एसिसी प्रिमियर कपको फाइनलमा युएईलाई हराउँदै नेपालले एसिया कपमा स्थान बनाएको थियो।यस्तै, गत वर्ष नेपालले उनकै प्रशिक्षणमा छनोट चरण पार गर्दै सन् २०१४ पछि पहिलोपल्ट आइसिसी टी–२० विश्वकपसमेत खेल्यो।
अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना भएको विश्वकपमा नेपाल समूह चरणबाटै बाहिरिएको थियो। मोन्टीको प्रशिक्षणमा पछिल्लो समय नेपाली टोलीको प्रदर्शन खराब लयमा छ। नेपालले १२ खेल खेलेको छ। तीमध्ये आठ खेलमा पराजय बेहोरेको छ। दुईमा जित र दुई नतिजाविहीन छ।
आठ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल ६ अंक जोड्दै सातौं स्थानमा छ। यस्तै, नेपाली टोलीले टी–२० फर्म्याटमा पनि राम्रो प्रदर्शन गर्न सकेको छैन। ओमानमा गत वर्ष भएको एसिसी प्रिमियर कपमा नेपाल युएईसँग ६ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो। तेस्रो स्थानका लागि भएको खेलमा पनि नेपाल हङकङसँग चार विकेटले पराजित भएको थियो।