काठमाडौं। कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनसँगै फ्रेन्ड्स युथ क्लब डडेलधुराले अर्जुन ट्रफी राष्ट्रिय टी–२० च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ।
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको खेलमा फ्रेन्ड्सले धनगढी क्रिकेट टिमलाई आठ विकेटले विजयी भएको हो। धनगढीले दिएको १३३ रनको लक्ष्य पछ्याएको फ्रेन्ड्सले १५.५ ओभरमा दुई विकेट गुमाउँदै १३६ रन बनायो।
फ्रेन्ड्सलाई जित दिलाउन कुशलले अविजित ८७ रनको इनिङ्स खेले ५१ बल खेलेका उनले नौ चौका र पाँच छक्का प्रहार गरे। उनले बलिङमा दुई विकेटसमेत लिए। उनी नै खेलको म्यान अफ द म्याच घोषित भए। यस्तै, विनोद भण्डारी ४२ र अभिषेक बम दुई रनमा आउट हुँदा सन्दीप जोरा पाँच रनमा अविजित रहे।
धनगढीका ललितनारायण राजवंशी र अमित श्रेष्ठले समान एक विकेट लिए।
यसअघि टस हारेर पहिला ब्याटिङ थालेको धनगढीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनाएको थियो।
धनगढीका अमितले सर्वाधिक ३२ रन बनाए। ३२ बल खेलेका उनले एक चौका प्रहार गरे। नीरज अयर २७, कप्तान नारायण जोशी १५, लोकेश बम १० र अभिषेक पाल १० रनमा आउट हुँदा अन्यको प्रदर्शन राम्रो हुन सकेन।
फ्रेन्ड्सका राहुल लुनियाले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले सात रन मात्रै खर्चिए। रवि विष्ट र कुशलको नाममा समान दुई विकेट रह्यो। हेमन्त धामीले एक विकेट लिए।