काठमाडौं। नानापाट कोन्चारोइन्काईको लगातार अर्धशतकसँगै थाइल्यान्डले त्रिकोणत्मक टी–२० आई शृंखलामा दोस्रो जित निकालेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा थाइल्यान्डले घरेलु टोलीलाई चार विकेटले पराजित गरेको हो। नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्यान्डले अन्तिम ६ बलअघि ६ विकेट गुमाउँदै भेट्टायो। जितसँगै थाइल्यान्डले दुई खेलबाट चार अंक पुर्याएको छ।
थाइल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले पराजित गरेको थियो। नेपाल भने अंकविहीन छ। नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो।
थाइल्यान्डलाई जित दिलाउन नानापाटले अविजित ६० रनको योगदान दिइन्। ५८ बल खेलेकी उनले ६ चौका प्रहार गरिन्। उनको यो लगातार दोस्रो अर्धशतक हो। नेदरल्यान्ड्ससँग शुक्रबार भएको पहिलो खेलमा पनि उनले ५८ बल खेल्दै ५ चौकासहित अविजित ५६ रन बनाएकी थिइन्। उनी नै प्लेयर अफ द म्याच घोषित भइन्।
सुवानान खिएटोले १४ र कप्तान नारुइमोल चाइवाइले १३ रन बनाइन् । अन्यको प्रदर्शन भने राम्रो हुन सकेन। नेपालकी मनीषा उपाध्यायले सर्वाधिक दुई विकेट लिइन् ।
यसै खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी उनले चार ओभरमा १३ रन खर्चेकी थिइन्। कविता कुँवर, रुविना क्षेत्री बेलबासे र कविता जोशीको नाममा समान एक विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०१ रन बनाएको थियो।
शीर्ष र मध्यक्रमका ब्याटर एकपटक पुन: फल्प हुँदा नेपालले ठूलो स्कोर बनाउन सकेन। ओपनरद्वय सम्झना खड्का र ममता चौधरी क्रमश: शून्य र दुई रनमा पभिलियन फर्किए।
कप्तान इन्दु बर्मा १५, पूजा महतो ६ र रुविना क्षेत्री बेलबासे चार रनमा आउट भए। तर, विन्दु र कविताले छैटौं विकेटका लागि ४४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासे। १६.५ ओभरमा बोल्ड हुनुअघि विन्दुले २५ बलमा तीन चौकासहित २५ रन बनाइन्।
लगत्तै अर्को ओभरमा कविता पनि २५ रनमै फन्निता मायाबाट बोल्ड भइन्। उनले ३२ बलमा दुई चौका प्रहार गरिन्। तर, त्यसपछि आएका तल्लोक्रमका ब्याटरले पनि दोहोरो अंकमा रन बटुल्न सकेनन्।
थाइल्यान्डका फन्निता, थिपाच्चा पुथावाङ र नटाया बुचथमले समान दुई विकेट लिए। चनिदा सुथिरुङको नाममा एक विकेट रह्यो।