काठमाडौं। विन्दु रावल र कविता कुँवरको ४४ रनको साझेदारीसँगै नेपालले त्रिकोणत्मक टी–२० आई शृंखलामा थाइल्यान्डलाई १०२ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०१ रन बनाएको हो।
शीर्ष र मध्यक्रमका ब्याटर एकपटक पुन: फल्प हुँदा नेपालले ठूलो स्कोर बनाउन सकेन। ओपनरद्वय सम्झना खड्का र ममता चौधरी क्रमश: शून्य र दुई रनमा पभिलियन फर्किए।
कप्तान इन्दु बर्मा १५, पूजा महतो ६ र रुविना क्षेत्री बेलबासे चार रनमा आउट भए। तर, विन्दु र कविताले छैटौं विकेटका लागि ४४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासे। १६.५ ओभरमा बोल्ड हुनुअघि विन्दुले २५ बलमा तीन चौकासहित २५ रन बनाइन्।
लगत्तै अर्को ओभरमा कविता पनि २५ रनमै फन्निता मायाबाट बोल्ड भइन्। उनले ३२ बलमा दुई चौका प्रहार गरिन्। तर, त्यसपछि आएका तल्लोक्रमका ब्याटरले पनि दोहोरो अंकमा रन बटुल्न सकेनन्।
थाइल्यान्डका फन्निता, थिपाच्चा पुथावाङ र नट्टया बुचथमले समान दुई विकेट लिए। चनिदा सुथिरुङको नाममा एक विकेट रह्यो।