काठमाडौं। महावीर र ग्रेट हिमालय क्रिकेट एकेडेमीले बिहीबार प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा विजयी सुरुआत गरेका छन्।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएका खेलमा महावीरले ओएसिस क्रिकेट एकेडेमी र ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमी ‘ए’ लाई पराजित गरका हुन्। महावीरले ओएसिसलाई १०० रनले पराजित गरेको हो। महावीरले दिएको २०८ रनको लक्ष्य पछ्याएको ओएसिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०७ रन मात्रै बनाउन सक्यो।
आएसिसका सुवोध ढुंगानाले अविजित रहँदै सर्वाधिक ६२ रनको योगदान दिए। रोशन पुलामीमगर १९ र ओबामा श्रेष्ठ १४ रनमा आउट भए। महावीरका सोनु देवकोटाले सर्वाधिक दुई विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको महावीरले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २०७ रन बनाएको थियो। महावीरका सोनु देवकोटाले सर्वाधिक ७९ रन बनाए। रोविन जोशी ७२ रनमा अविजित रहँदा उत्तम थापामगरले ३५ रन बनाए। ओएसिसका निर्जल श्रेष्ठ, अविजित सुनार र निश्चल श्रेष्ठले एक/एक विकेट लिए।
अर्को खेलमा ग्रेट हिमालयले हिमालयन ‘ए’ लाई ७७ रनले पराजित गर्यो। ग्रेट हिमालयले दिएको १६१ रनको लक्ष्य पछ्याएको हिमालयन १९ ओभरमा ८३ रनमै अलआउट भयो।
हिमालयनका दीपक बोहराले सर्वाधिक ४९ रन बनाए। अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । ग्रेट हिमालयक दर्शिल विष्ट र प्रकाश विष्टले दुई/दुई विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६० रन बनाएको थियो। ग्रेट हिमालयका इशान पाण्डेले सर्वाधिक ७१ रन बनाए। यसैगरी दीपक महतोले अविजित ३८ र राजु सहानीले २३ रन बनाए । हिमालयनका प्रमिश पोख्रेलले सर्वाधिक तीन विकेट लिए।