काठमाडौं । नेपाली राष्ट्रिय टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले अन्तराष्ट्रिय क्रिकेटमा कीर्तिमान बनाएका छन् ।
रोहितले अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् ।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा अर्धशतक बनाउदै रोहितले उक्त कीर्तिमान बनाएका हुन् ।
अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा अर्धशतक पुरा गर्दा रोहित १६ बर्ष १४६ दिनका थिए ।
५५ बलमा अर्धशतक पुरा गरेका रोहितले युएईविरुद्ध ५५ रन बनाएर आउट भए । युवा ब्याट्सम्यान रोहितको अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा यो पहिलो अर्धशतक पनि हो ।
१५ वर्षको उमेरमा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका रोहितले भारतीय लिजेण्ड सचिन तेन्दुलकर र पाकिस्तानका साहिद अफ्रिदीको कीर्तिमानलाई भंग गरेका हुन् ।
यसअघि सचिनले १६ बर्ष २१३ दिनको हुँदा टेष्ट क्रिकेटमा अर्धशतक बनाएका थिए । यस्तै अफ्रिदीले १६ बर्ष २१७ दिन हुँदा एकदिवसीयमा अर्धशतक बनाएका थिए ।
तस्बिर: क्रिकइन्फो